धरानको उपनिर्वाचनमा मतदान सम्पन्न, ६० प्रतिशत मत खसेको अनुमान

Newslaya Home

धरानको उपनिर्वाचनमा मतदान सम्पन्न, ६० प्रतिशत मत खसेको अनुमान

शनिबार १४, मङि्सर २०७६

धरान । सुनसरीको धरान उप महानगर प्रमुख र वडा नम्बर सातको अध्यक्ष पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ ।

आज बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न गरिएको हो । ११ बजे ३० प्रतिशत मत खसेको र दिउसो ३ः३० सम्ममा ५० प्रतिशत मत खसेको जनाइए पनि सम्पूर्ण विवरण आउन भने बाँकी रहेको छ ।

५८ देखि ६० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । 

२८ मतदानस्थल र ९९ मतदान केन्द्र रहेको धरानको उपनिर्वाचनमा ९२ हजार ८ सय ५३ मतदाता थिए ।
मतदानको कार्य सम्पन्न भए लगत्तै मतदानस्थलबाट मतपेटिका सिलबन्दी गरेर सुरक्षितरुपमा निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी रहेको जनाइएको छ ।

२०७४ सालको निर्वाचनमा ७९ हजार २ सय ८२ मतदाता रहेकोमा ५३ हजार ५ सय ४७ मत खसेको थयो । यो कुल प्रतिशतमा ६७.५४ प्रतिशत हो । खसेको मतमध्ये पनि ५२ हजार ४ सय ५४ मत मात्र सदर भएको थियो । सदर मतको प्रतिशत भने ९७.९६ प्रतिशत थियो । खसेको मतमा १०९२ मत बदर भएको थियो । यो बदर मत प्रतिशत २.०४ प्रतिशत हो ।