रिक्त रहेका तीन तहका ५२ पदका लागि मतदान हुँदै

Newslaya Home

रिक्त रहेका तीन तहका ५२ पदका लागि मतदान हुँदै

शनिबार १४, मङि्सर २०७६

काठमाडौं । उपनिर्वाचन अन्तर्गत तीन तहका रिक्त रहेका ५२ पदका लागि मतदान सुरु भएको छ ।

शनिबार बिहान ७ बजेबाट उपनिर्वाचन हुने स्थानमा मतदान सुरु गरिएको हो ।
मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगेर मत जायर गर्न सक्ने गरि सौहार्दपूर्ण वातावरणमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

तिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त रहेका छन् ।
तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(क), बागलुङ २(ख), दाङ ३(ख) मा पनि आज उपनिर्वाचन हुँदैछ ।

स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि उपचुनाव हुँदैछ ।
पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि उपचुनाव हुँदैछ ।

रिक्त यी पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ३७ उम्मेदवार चुनावी मैदानमा छन् । उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको जनाउँदै ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले मतदातालाई आह्वान गरेको छ ।