आइसियुबाट ओलीले सोधे, ‘चुनावी माहोल के छ ?’ प्रचण्डले भने, ‘राम्रो छ चिन्ता नगर्नुस्’

Newslaya Home

आइसियुबाट ओलीले सोधे, ‘चुनावी माहोल के छ ?’ प्रचण्डले भने, ‘राम्रो छ चिन्ता नगर्नुस्’

शनिबार १४, मङि्सर २०७६

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य राम्रो हुँदै गएको बताउँदै बाहिरको राजनीतिक माहोलबारे चासो राखेको बताइएको हो ।

करिब ५ मिनेटसम्म दुई नेताबीच आईसियुमै भएको कुराकानीमा अध्यक्ष दाहालले चुनावी वातावरण र अन्य राजनीतिक अवस्था राम्रो रहेको बताउँदै चुनावबारे चिन्ता नलिनुस्, बाहिर सबैमा उत्साह पैदा भएको बारे बताएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

मंगलबारदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेपछि ओलीसँग आईसियुमै कुराकानी गर्ने प्रचण्ड दोस्रो व्यक्ति हुन् ।

चिकित्सक र पत्नी राधिकाबाहेक तेस्रो व्यक्तिलाई भेट्न निषेध गरिएको अवस्थामा अध्यक्ष प्रचण्डले शुक्रबार साँझ ६ः४० मा भेटेर करिब ५ मिनेट कुराकानी गरेका थिए । त्यसक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यबारे उपचारमा संलग्न चिकित्सकहरूसँग पनि परामर्श गरेको बताइएके छ ।