सागको मुखैमा राष्ट्रिय कीर्तिमानधारी धाविका कतार रोजगारीमा हिडिन्

Newslaya Home

सागको मुखैमा राष्ट्रिय कीर्तिमानधारी धाविका कतार रोजगारीमा हिडिन्

शनिबार १४, मङि्सर २०७६

काठमाडौं । घरेलु मैदानमा आयोजना हुने १३ औं सागको उद्घाटन हुनु ३ दिनअघि नेपाली सेनाकी धाविका तुलसा खत्री विदेशिएकी छिन् ।

बिहीबार प्रशिक्षकलाई झुक्याएर चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी धाविका खत्री १३ औं दक्षिण एसियाली खेलकुद (साग) छाडेर कतार गएकी हुन् ।

मन्दिर जाने भन्दै सन्देश पठाएकी खत्री बिहीबार दिउँसोसम्म सम्पर्कमा नआएपछि सोधपुछ थालिएको थियो । खत्रीले बुधबार बेलुकी प्रशिक्षणमा ढिला आउने भनी सन्देश पठाएकी एथ्लेटिक्सका प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए ।

खत्री कतार गएको अन्य खेलाडीले जानकारी दिएपछि प्रशिक्षक गुरुङले बिहीबार राष्ट्रिय खेलकुद परिषद्लाई मौखिक जानकारी गराइ शुक्रबार भने लिखित रुपमा नै पत्राचार गरेका हुन् ।

यसअघि खत्रीले गत महिना चीनको उहानमा भएको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा महिला चार सय मिटर दौडमा ९ वर्ष पुरानो कीर्तिमान तोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । खत्रीले सागमा चार सय मिटर दौड, हडल्स र रिलेमा भाग लिने तय भए पनि अब उनको सट्टामा अरुणा रिजालले खेल्ने सम्भावना रहेको बताइएको छ ।