भोजपुरमा पशु चौपाया काटेर आतंक

Newslaya Home

भोजपुरमा पशु चौपाया काटेर आतंक

शनिबार १४, मङि्सर २०७६

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ सिमटार स्थित अज्ञात समूहले स्थानीयबासीका बाख्रा काट्दै गाईगोठमा आगजनी गरेका छन् ।

गाउँका स्थानीयबासीमा त्रास बढेसँगै केही दिनअघि सङ्घीय सांसद सुदन किराँती, प्रदेशसभा सांसद राजेन्द्र राई, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरद्धाराा सो स्थानको अनुगमन गरिएको हो ।

अज्ञात समूहले सिमटारका नकृष्ण राईको गोठमा मध्यरातमा आगो लगाएको बताइएको छ ।
स्थानीयबासीहरुले आगो लगाएको समूहले नै बाख्रा काटेको भन्दै नियोजित रुपमा यो घटना घटाइएको भएकाले प्रशासनले गम्भीर रुपमा छानबिन गर्नु पर्ने माग गरेका छन् ।

स्थानीयबासीको गोठमा बाँधिएका सातवटा बाख्रा काटिएसँगै गाईवस्तु बाँधिएको गोठमा समेत रहस्यमय ढङ्गले आगलागी भएपछि स्थानीयवासी त्रसित भएका हुन् । मध्यरातमा भएको आगलागीबाट दुईवटा गोरु मरेका थिए भने अन्य दुई गोरु डढेर घाइते भएका छन् । आगलागीबाट पाँच लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

अनुगमनका लागि घटनास्थल पुगेका सङ्घीय सांसद सुदन किराँतीले घटना अत्यन्तै अमानवीय भएको बताउँदै चाँडो छानबिनका लागि निर्देशन दिएको बताए भने उक्त घटनामा पीडितको निवेदन आए पछि गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार सहयोग गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बाख्रा काटेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ भने आगलागीको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा गोप्यरुपमा आवश्यक प्रमाण जुटाउन स्थानीयवासीलाई आग्रहसमेत गरिएको छ । दुवै घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँदै सो क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए ।