साँझ परेपछि भवानीपुरलाई इटहरी उपमहानगरको उपहार, 'फोहोरको धुँवा'

Newslaya Home

साँझ परेपछि भवानीपुरलाई इटहरी उपमहानगरको उपहार, 'फोहोरको धुँवा'

शुक्रबार १३, मङि्सर २०७६

इटहरी । इटहरी उपमहानगरपालिका भएपछि धेरैले विकास निर्माण, फोहोर व्यवस्थापन, शिक्षा तथा स्वास्थ्यको व्यवस्थित विकास हुने अपेक्षा गरेका थिए । तर अपेक्षाअनुसार काम हुन सकेको छैन ।

खासगरी फोहोर व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाको तयारी र प्रगती फितलो देखिएको छ । इटहरी उपमहानगरभरीबाट उठेको फोहोर सेउती खोलामा फाल्ने गरिएको छ । हाँसपोसा सामुदायिक वनमा पर्ने सेउती खोलामा फाल्ने गरीएको हो ।

फोहोर फाल्ने मात्र होइन, दिनैपिच्छे जसो फोहोर जलाउने पनि गरिएको छ । जलाइएको फोहोरको कारण धुँवा उठेर वरपरका स्थानीयलाई बस्नै नसक्ने बनाउने गरेको स्थानियको गुनासो छ ।

इटहरी १९ नंं वडाको भवानीपुर ब्रम्हपुर, तामाङ टोल, अमाहालगायतका ठाउँ बढी असर गर्ने गरेको छ । ‘उपमहानगरपालिकाले हामीलाई फोहोर जलाएको धुँवा सुँघाइरहेकोछ,’ स्थानिय प्रेम निरव भन्छन्, ‘साँझ परेपछि जहिल्यै धुँवाले घरमा बस्नै नसकिने हुन्छ ।’

उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल्ड साइडको व्यवस्था गरेपनि सञ्चालनमा आउन सकेको छैन ।