‘अन्तर्जातीय विवाह हामी सक्षम भएकालाई त गाह्रो भो, अरुलाई झन् कस्तो होला ?’

Newslaya Home

‘अन्तर्जातीय विवाह हामी सक्षम भएकालाई त गाह्रो भो, अरुलाई झन् कस्तो होला ?’

शुक्रबार १३, मङि्सर २०७६

इटहरी । इटहरीका दुई युवा सामाजिक अभियन्ता मिरा रेग्मी र उमेश सुन्चेउरीले परम्परागत रुपमा अन्तरजातीय विवाह गरेका छन् ।

इटहरी ५ आदर्श टोलका उमेश र इटहरी ५ जनता वस्तीकी मिराबीच विहिबार इटहरीको लायन्स क्लबको भवनमा मागी विवाह भएको हो । नवविवाहित जोडी उमेश र मिरा बाल्यकालबाटै सकारात्मक परिवर्तनका अभियन्ता हुन् । बाल क्लबमै हुँदा विभिन्न सामाजिक समस्याहरुविरुद्ध आवाज उठाएका उनीहरुले दुवै परिवारको सहमतीमा मागी विवाह गरेका हुन् ।

इटहरीमा पत्रकारिता गरेका उमेश र सामाजिक संघसंस्थामा सक्रिय मिरा अहिले दुवै अहिले अष्ट्रेलियामा अध्ययनको सिलसिलामा छन् । उमेश त्यहाँ गुर्खाज टिभी नामक युट्युब च्यानलसमेत चलाउँछन् ।

सुरुमा अग्रजहरुले आनाकानी गरेपनि दाजु भाउजुको सपोर्टमा पछि विश्वासमा लिएको मिरा बताउँछिन् । सामाजिक छुवाछुतविरुद्धको अभियानका लागि पनि आफूहरुले सामाजिक चलनअनुसारकै विवाह गरेको बताए ।

उनीहरुले छुवाछुतलाई अझै समाजबाट हटाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । बाल समुहमा हुँदा छुवाछुत, बहु विवाह, बाल विवाहका विरुद्ध चेतना जगाउँदै अरुलाई सिकाउँदै हिड्ने आफूहरुलाई अहिले आफ्नै परिवारलाई बुझाउन गाह्रो भएको उनीहरुले बताए ।

‘आफ्नो खुट्टामा उभिइसकेको र यति धेरै सामाजिक विषयहरु थाहा भएको हामीर्लाइ त गाह्रो भयो भने अरुलाई कस्तो होला,’ मिरा भन्छिन् । परिवार तथा आफन्तका केही सदस्यहरुहरु सकारात्मक नभएपनि बाँकी धेरै भने सकारात्मक रहेको उनीहरु बताउँछन् ।

विवाहमा इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मी, न्यायकर्मी, महिला अधिकारकर्मी तथा सचेत युवाहरुको बाक्लो उपस्थित थियो । उपस्थिति सबैले बिवाह सामाजिक कुरीतीविरुद्धको प्रहार भएको बताएका छन् ।