प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको फोटो बिगारेर फेसबुकमा हाल्ने व्यक्ति पक्राउ

Newslaya Home

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको फोटो बिगारेर फेसबुकमा हाल्ने व्यक्ति पक्राउ

बिहीबार १२, मङि्सर २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो बिगारेर फेसबुकमा हाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कैलालीको मसुरिया–६ का २३ वर्षीय आशीष सिंहलाई बिहीबार पक्राउ गरेको हो । उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो फोटोसपको माध्यमबाट तोडमोड गरी बिगारेर फेसबुकमा हालेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डिएसपी टंकप्रसाद भट्टराईका अनुसार उनले प्रारम्भिक बयानका क्रममा अरुले नै बनाएको फोटो आफुले फेसबुकमा हालेको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिले जिन्सको पाइन्ट लगाएर एक अर्कालाई आलिङ्गन गरेको फोटो फेसबुकमा हालेको खुलेको छ । प्रधानमन्त्रीले जिन्सको पाइन्टोको गोजीमा हात हालेको र राष्ट्रपतिले भेस्ट र जिन्सको पाइन्ट लगाएर खुट्टो उचालेको फोटो फेसबुक हालेका थिए ।