भारतीय सांसदले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि......

Newslaya Home

भारतीय सांसदले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि......

बिहीबार १२, मङि्सर २०७६

बिबिसि । सत्तासीन भारतीय जनता पार्टीका एकजना विवादास्पद सांसदलाई महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । प्रज्ञा ठाकुरको सो भनाइबारे अनलाइनमा ठूलो आलोचना भएपछि उनको दलले सो भनाइप्रति खेद व्यक्त गरेको छ ।

ठाकुरले नाथुराम गोडसेलाई देशभक्त भनेको यो दोस्रो पटक हो। पहिलो पटक उनले मेमा सो अभिव्यक्ति दिएकी थिइन् ।

उनीमाथि सन् २००८ मा छ जना मारिएको र एक सय जना घाइते भएको विस्फोटनमा संलग्न भएको आरोप छ ।

ठाकुरले ती आरोपहरूलाई अस्वीकार गरेकी छन् र हाल धरौटीमा छुटेर बाहिर रहेकी छन् । संसद्‍को तल्लो सदनको छलफलको क्रममा उनले बुधवार गोड्सेलाई देशभक्त भनेकी थिइन् ।

उनको दल र सरकार दुवैले उनको त्यो विवादास्पद अभिव्यक्तिको आलोचना गरेका छन् । बिहीबार संसद्‍मा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले उनको अभिव्यक्तिको आलोचना गरे ।

‘हामी नाथुराम गोडसेलाई देशभक्त भनेर व्याख्या गर्ने कुनैपनि दर्शनप्रति खेद व्यक्त गर्छौँ ।’

सिंहले गान्धीको दर्शन अझै सान्दर्भिक रहेको भन्दै उनलाई मार्गदर्शकको रूपमा व्याख्या गरे ।

बिहीबार ठाकुरको नाम ट्विटरका सबैभन्दा धेरै प्रयोग गरिएको नाम बनेको थियो र अधिकांश ट्वीटमा उनको आलोचना गरिएको थियो ।

उनलाई उनको दलले निष्काशन गर्नुपर्ने आवाज पनि उठेको थियो । तर ठाकुरको अभिव्यक्ति गान्धीलाई नरमपन्थी मान्ने कतिपय दक्षिणपन्थी हिन्दुहरूको विचारसँग मेल खान्छ ।

सन् १९४८ मा राष्ट्रवादी दक्षिणपन्थी समूहका कार्यकर्ता रहेका गोडसेले नजिकैबाट गान्धीको छातीमा तीन गोली प्रहार गरेका थिए ।

हिन्दु चरमपन्थीहरूले गान्धीलाई मुसलमानहरूप्रति नरम रहेको र त्यसकै कारण ब्रिटेनसँगको स्वतन्त्रतापश्चात् देश टुक्रिएको र हिंसा फैलिएको मान्ने गर्छन् ।