नेपाललाई तीनवटा जलमार्ग प्रयोग गर्न दिन भारत सहमत

Newslaya Home

नेपाललाई तीनवटा जलमार्ग प्रयोग गर्न दिन भारत सहमत

बिहीबार १२, मङि्सर २०७६

बिबिसि । नेपाललाई आफ्ना तीनवटा जलमार्गमा पहुँच दिन भारत सहमत भएको नेपाली अधिकारीहरूले बताएका छन् ।

काठमाडौंमा बुधबार बसेको सह–सचिवस्तरीय बैठकमा भैरहवा र जोगबनीमार्फत् पनि ठूलो परिमाणको बल्क कार्गो ढुवानी गर्न दिन भारतले सहमति जनाएको नेपालको तर्फबाट वार्ताको नेतृत्व गरेका अधिकारीले बीबीसीलाई बताएका छन् ।

उनका अनुसार वार्तामार्फत् नयाँ वाणिज्य सन्धिको मस्यौदालाई पनि दुई देशका अधिकारीहरूले अन्तिम रूप दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालका अनुसार पारवहन लागतलाई कम गर्ने, नेपाली निर्यातलाई प्रतिस्पर्धी बनाउने र आयातको सन्दर्भमा पारवहन प्रक्रियालाई सरल बनाउने उद्देश्यसहित नेपालले वार्तामा सहभागिता जनाएको थियो ।

नेपालले कुन–कुन जलमार्ग पाउँछ ?
आफ्नै जहाजमार्फत् तेस्रो मुलुकसम्म भारतको जलमार्ग हुँदै आउजाउ गर्ने नेपालको अभिलाषा प्रतिबिम्बित हुने गरी सहमति गरिएको जनाउँदै ढकालले भने, ‘हामीले कालुघाट, साहेबगञ्ज र वराणसीको मार्ग हुँदै कोलकाता गएर त्यहाँबाट अगाडि जाने यातायातका लागि पनि भारतले जलमार्गको प्रयोग गर्ने सुविधा दिने सहमति जनाएको छ ।’

लामो समयदेखि नेपालका औद्योगिक करिडर वा क्षेत्रहरूमा ठूलो परिमाणको बल्क कार्गो नआउँदा ढुवानी खर्च महँगो परेको नेपाली व्यवसायीहरूले गुनासो गर्दै आएका थिए ।

त्यसलाई सम्बोधन गर्ने गरी भैरहवा र जोगबनीमार्फत् रेलमार्ग भएर बल्क कार्गो ढुवानी गर्न दिन भारत सहमत भएको सह–सचिव ढकालले बताए ।

त्यसबाहेक अर्को महत्त्वपूर्ण कुरा वार्ताले टुङ्ग्याएको सह–सचिव ढकालको भनाइ छ ।