धनकुटाको छथरजोरपाटीमा तेस्रो हेलिप्याड निर्माण

Newslaya Home

धनकुटाको छथरजोरपाटीमा तेस्रो हेलिप्याड निर्माण

बुधबार ११, मङि्सर २०७६

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ पानीट्याङ्की स्थित हेलिप्याड निर्माण गरिएको छ ।

मंसिर ७ गते देखि निर्माण गर्न थालिएको हेलिप्याड निर्माणको काम तीन दिनमा सकेर बुधबार (आज) चौथो दिन औपचारिक कार्यक्रमको बीच वरख गण सल्लेरीले गाउँपालिकालाई जिम्मा लगाएको हो ।

छथरजोरपाटी गाउँपालिकाको विपद व्यवस्थापन कोष अन्तर्गतको २ लाख २२ हजार बराबरको लगानी तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको प्राविधिक सहयोगमा निर्मित हेलिप्याड वरख गणद्धारा गाउँपालिका प्रमुख शेर वहादुर लिम्लाबुई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा धनकुटा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरेले कुनैपनि समयमा सवारी साधन चल्ने सडकहरु भत्किएको बेला गाउँपालिकाको जुनसुकै स्थानमा विपत्ती आईपरे उद्धारको लागि तथा राहत वितरण गर्न सहज हुने भएकाले हेलिप्याड निर्माण गरिएको बताउँदै यसअघि नै महालक्ष्मी नगरपालिका र शहिदभूमि गाउँपालिकामा हेलिप्याड निर्माण कार्य सम्पन्न गरिएको र जिल्लामा तेश्रो हेलिप्याडको रुपमा छथरजोरपाटीमा निर्माण भएको जानकारी गराए ।

माल पाएर चाल पाईएन भने समस्या हुने र पाएको वस्तुको अर्थ पनि नहुने भन्दै गाउँपालिका प्रमुख लिम्बुले हेलिप्याड संरक्षणको जिम्मा गाउँपालिका सहित स्थानीय बासिन्दाको भएको बताए ।

कार्यक्रममा गाउँपालिकाका अन्य पदाधिकारी सहित विभिन्न वडाका वडाध्यक्ष, वरखगण सल्लेरीका प्रमुख सेनानी भगवान थापा मगर लगाएत सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।