उच्च शिक्षाका लागि प्रदेशको लगानीः मन्त्री घिमिरे

Newslaya Home

उच्च शिक्षाका लागि प्रदेशको लगानीः मन्त्री घिमिरे

बुधबार ११, मङि्सर २०७६

झापा । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश एकको शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि विभिन्न नीति लागु गरिएको बताएका छन् ।

बुधबार मेचीनगरस्थित आयोजित काँकडभिट्टा बहुमुखी क्याम्पसको दोस्रो क्याम्पससभालाई सम्बोधन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री घिमिरेले उच्च शिक्षामा सरकारले लगानी बढाउन लागेको बताएका हुन् ।

साही कार्यक्रमकाबीच मन्त्री घिमिरेले काँकडभिट्टा क्याम्पसलाई प्रदेश सरकारका तर्फबाट तत्काल रु ३० लाख सहयोग प्रदान गरिने घोषणा गरेका छन् ।
आर्थिक स्रोत र विद्यार्थी अभावका कारण कतिपय सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुगेको जनाउँदै मन्त्री घिमिरेले ती क्याम्पसहरुलाई बन्द हुन नदिन प्रदेश सरकारले ‘मर्ज’को नीति लिएको बताउनुभएको हो ।

एक आपसमा (मर्ज) गाभिने भएको क्याम्पस सञ्चालनमा प्रदेश सरकारको सहयोग रहने जनाइएको छ ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन २०० विद्यालयमा डिजिटल प्रविधिमार्फत पठनपाठन शुरु गरेको, मनमोहन विश्वविद्यालय स्थापना गरेको, डिजिटल साक्षरता कक्षा सञ्चालन गर्न लागेको र सक्षम क्याम्पसलाई विश्वविद्यालयमा रुपान्तरण गर्ने नीति प्रदेश सरकारले लिएको मन्त्री घिमिरेले जानकारी दिए ।

स्नातक तहसम्म पठनपाठन भइरहेको काँकडभिट्टा बहुमुखी क्याम्पसमा भवन र कलेजबस लगायतका भौतिक साधनको अभाव भएको क्याम्पसका अध्यक्ष कमल थापाले बताएका थिए ।