पोखरामा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै बम विस्फोट

Newslaya Home

पोखरामा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिकै बम विस्फोट

बुधबार ११, मङि्सर २०७६

पोखरा । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा–९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।

विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एउटा बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग १ ख ८८९१ नम्बरको बसका सिसा फुटेको जनाइएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ। प्रतिबन्धित विप्लव समूहले बम विस्फोट गराएको आशंका गरिएको छ ।

प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ । मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेताहरु पोखरा पुगेका हुन् ।