खोटाङकी श्रेष्ठद्वारा वडा कार्यालयलाई २५ लाखको जग्गा दान

Newslaya Home

खोटाङकी श्रेष्ठद्वारा वडा कार्यालयलाई २५ लाखको जग्गा दान

बुधबार ११, मङि्सर २०७६

खोटाङ । खोटाङकी ७१ वर्षीया कमला श्रेष्ठले २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गरेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी श्रेष्ठले पाँच रोपनी जग्गा वडा कार्यालयलाई दान गरेकी हुन् ।

कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा नामसारी गरेको वडासचिवले जानकारी दिएका छन् । जग्गादाता कमलाले खार्मीस्थित स्कूलडाँडामा रहेको आफ्नो नामको जग्गाधनीपूर्जा वडा कार्यालयको नाममा नामसारी गरेर वडाध्यक्ष रामचन्द्र राईलाई प्रदान गरेकी हुन् ।

निःशुल्क जग्गा प्राप्त भएसँगै भवन निर्माणका लागि नगरपालिकालाई अनुरोध गरिने वडा कार्यालयले जनाएको छ । चालु आवदेखि वडाको आफ्नै कार्यालय भवन निर्माणको काम शुरु गरिने नगरप्रमुखले जनाएका छन् ।

पन्ध्र वटा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश वडा कार्यालय भाडाको घरमा सञ्चालनमा छन् ।