प्रदेश १ मा धान उत्पादन घट्यो

Newslaya Home

प्रदेश १ मा धान उत्पादन घट्यो

बुधबार ११, मङि्सर २०७६

विराटनगर । यो वर्ष प्रदेश १ मा धानको उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा ५.२५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश अन्तर्गत १४ जिल्लाको ९३ प्रतिशत धान उत्पादनयोग्य जमीनमा धान खेती गरिएको थियो ।

प्रदेश १ को ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेति गर्न सकिने भएपनि यो वर्ष ३ लाख २० हजार १३४ हेक्टरमा खेति गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ । यो वर्ष प्रदेश १ मा ११ लाख ९८ हजार ७४० मेट्रिक टन धान उत्पादन भएको अनुमानित विवरण रहेको निर्देशनालयले जनाएको छ ।

अघिल्लो वर्ष प्रदेश १ मा १२ लाख ६१ हजार ६६५ मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्ष सोलुखुम्बुमा धान खेति योग्य शतप्रतिशत जमीनमा धान खेति गरिएको थियो । सोलुखुम्बुमा १ हजार ५२५ हेक्टर खेतबाट ३ हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको छ ।

त्यस्तै सबैभन्दा धेरै झापामा ८४ हजार ८७५ हेक्टर जमीनमा ३ लाख ८१ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको छ । धान उत्पादनमा महत्वपूर्ण झापा, मोरङ र सुनसरीमध्ये यो वर्ष मोरङ र सुनसरीको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १० मेट्रिक टन रहेको छ ।