चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज धरान आउँदै

Newslaya Home

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज धरान आउँदै

बुधबार ११, मङि्सर २०७६

काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रचारका लागि बुधबार (आज) धरान आउने भएका छन् । आज प्रचण्डले कास्की २, धरान र भक्तपुरका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।

स्रोतका अनुसार प्रचण्डले तीन ठाउँमा चुनावी प्रचार गर्न दिनभरिजसो हेलिकप्टर प्रयोग गर्ने भएका छन् । अहिले पोखरामा रहेका प्रचण्ड केहीबेरमा धरान उड्नेछन् । त्यसपछि उनी हेलिकप्टरबाटै काठमाडौं फर्केर भक्तपुरको चुनावी सभामा पुग्ने कार्यक्रम छ।

हेलिकप्टर चुनावी क्षेत्रमा भने नलैजाने उनको सचिवालयले जनाएको छ। उनी इटहरीमा हेलिकप्टर राखेर गाडीमा धरान जाने जनाइएको छ । धरानमा चुनावी सभा सकेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौं फर्कंदै छन्।

निर्वाचन आयोगले बुधबार राति १२ बजेसम्म मात्रै चुनावी प्रचार गर्न पाइने कार्यतालिका यसअघि नै जारी गरिसकेको छ। बिहीबारदेखि मौन अवधि सुरू हुनेछ। चुनावी प्रचारका कार्यक्रमहरू गर्न पाइने छैन।

एक संघीय क्षेत्र, तीन प्रदेशसभा, धरान उपमहानगरलगायत रिक्त स्थानीय तहमा मंसिर १४ गते शनिबार उपनिर्वाचन हुँदैछ।