बालिका चोरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ

Newslaya Home

बालिका चोरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ

बुधबार ११, मङि्सर २०७६

सप्तरी । प्रहरीले बालिका चोरी गरेको अभियोगमा एकजना भारतीय नागरिकलाई राजविराजबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेका छन् ।

बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुझ्ने स्थानीय एक जनाको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

पक्राउ परेका व्यक्ति साहले मानसिक सन्तुलन गुमाएको जस्तै व्यवहार देखाइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जनाए । उनकाअनुसार घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरको हुन् वा वास्तवमै बच्चा चोरी गरेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनका साथबाट एक थान मोबाइल र पूजामा प्रयोग हुने एक थान घण्टीसमेत बरामद गरेको छ ।

मंगलबार राजविराजस्थित पब्लिक बिन्देश्वरी माविमा कक्षा ३ मा पढ्ने ५ वर्षीय बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानीयवासीलाई शङ्का लागेपछि उनलाई नियन्त्रणमा लिई प्रहरीसमक्ष बुझाएका थिए ।

सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी मनिकलाल चौधरीकी ५ वर्षीया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र १०० रुपैयाँको भारतीय नोट दिएर फकाएर लैजाँदै गर्दा सरस्वती टोल निजकैबाट स्थानीयवासीको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको वडा नं ५ का अध्यक्ष समीर झाले जानकारी दिए ।