टुक्रियो सपना

Newslaya Home

टुक्रियो सपना

- गजेन्द्र मोक्तान
सोमबार ०९, मङि्सर २०७६

तिमी झापाबाट कहिले आयौ नि ?

‘म भर्खर एक बजे आइपुगेँ । भद्रपुरमा फ्लाईट रोकियो त्यसैले ढिला भयो । तिम्रो खबर के छ ?’

मतिर फर्केर मुस्कुराउँदै उनले सोधिन् ।

‘म त तिम्रो अभावमा पानीबिनाको माछो झैं छट्पटिएको छु ।’ – मैले जवाफ दिएँ ।

‘ए हो र तिमीलाई गफ लाउन खुब आउँछ नि है ?’ मेरो कुममा आफ्ना नरम हातले प्याट्ट हिर्काइन् ।

‘ए साँच्ची तिम्रो पढाई कस्तो हुँदैछ गज्जु ?’

मैले भने, ‘ठिकै छ ट्युसन पढ्दैछु बागबजारमा सुवास गिरीसँग । तिमीले पढिसक्यौ र ढुक्क छौ ।’ मैले जिस्कँदै भनेँ । उनले मेरा लागि इलामबाट ल्याएको पोलिथिन भरीको छुर्पी र लालीपप मतिर बढाउँदै भनिन्, ‘ल ल खाऊ ।’

‘मेरो भोली जन्मदिन छ मलाई के दिने ?’ उनी पनि के कम उस्तै जिस्कने स्वभाव थियो ।

‘मैले के दिनु र तिमीलाई चोखो माया बाहेक ? जागिर छैन व्यापार छैन । बरु तिम्रो केक खान आउँला नि है हुन्छ ?’ हाम्रो कफी शपमा निकै गफ भयो । कुराकानीको अन्तमा जन्मदिन मनाउनको लागि आफ्नै घरमा बोलाईन ।

उनका बुवा नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरिक्षक (एस.एस.पि) भने आमा सामान्य मन्त्रालयको अधिकृत हुनुहुन्थ्यो । उनले हात्तीवनको लिटल एन्जल्सबाट एस.एल.सी पास गरेकी थिईन भने काठमाडौं विश्वविद्यालयबाट बि.बि.ए गरेकी थिइन् । सभ्य र सम्पन्न परिवारकी भए पनि मोनिकामा कहिल्यै अहमता देखिनँ मैले । म जस्तो गाँउलेलाई पनि किन र कसरी मन पराइन म चकित हुन्थेँ ।

एकपालीको दशैंमा घर जाँदा चिनजान भएकी उनीसँग गहिरो पिरतीमा परेँछु म त । मलाई उनले सोझो र भलादमी लाग्यो रे त्यसैले मनदेखि नै तिमीलाई मन पराएँ तर तिमी र मसँगै हुनको लागि वैज्ञानिक ढंगले मात्र हुन सँगै हुन सक्छौ नत्र परिवारकी कान्छी छोरी अस्ति मात्र नेपाली सेनाका सेनानी थापा थरको एक जना माग्न आएको थियो तर मैले मानिनँ । यसरी कुरा हुन्थ्यो हाम्रो, उनलाई मैले कोठा भाडा तिर्नलाई ठिक्क पारेको पैसाले न्युरोडमा गएर ईटालियन ब्रान्डको जुत्ता उपहार ल्याई दिएँ किनभने राम्रो ब्रान्डको जुत्ता र कपडा लाउन सौखिन थिइन् गोरी र सर्लक्क मिलेको शरीर टक्क कपडा लाएसी जेनिफर लोपेज जस्तै मान्थे मैले ।

दुःख–सुख बुझ्ने मान्छे सायद उनी मात्र थिइन् मेरो जीवनमा त्यसैले उनलाई एउटा उपहार दिन कुनै कन्ज्युस्याँई थिएन । उनको जन्मदिनमा गएँ उपहार दिएँ केक खाएँ उनी धेरै खुशी भइन् मेरो उपस्थितिले ।

‘तिमीले कोठा भाडा तिर्नु पर्छ, खानु पर्यो, ट्युसन फि र साथीभाईसँग चिया खाजा खानु पर्यो मैले त जिस्किएको मात्र यति महंगो चिज किन ल्याएका नि ? उनले हकारिन् । मैले कुरा मिलाएँ दिनहरु बित्दै गए ।

हाम्रो विवाह त कठिन थियो । जात, स्तर फरक थियो त्यसैले हामीले विवाहका लागि बेग्लै आधार बनाउनु पर्थ्यो । उनी अष्ट्रेलियामा MBA गर्न हामी दुवैको सल्लाह अनुसार जाने निश्चित भयो त्यसपछी उनकै पहलमा जान सक्ने भएँ र विवाह गर्न सजिलो हुने भयो ।

सहमति बमोजिम मोनिका University of New South Wales मेलबर्नमा पढ्नलाई गइन् । हाम्रो प्रायः सधै कुरा हुन्थ्यो म पनि एक बर्षभित्रमा विवाह गरेर जानको लागि प्रक्रिया अगाडी बढाउँदै थिएँ ।

होलीको दिन साथीहरुसित खेल्दै रहँदा अचानक खबर आयो मोनिका मार्गरेट रिभर घुमेर आउँदा कार दुर्घट्नामा परेर मृत्यु भएको खबरले स्तब्ध भएँ ।
उनी दुर्घटनामा पर्दा म पनि उनीसँगै परेँ झै भयो मेरो जीवनको रहरहरु खुशीहरु उनीसँगै गयो । लेखान्तमा जीवन अडेको छ हामी त पात्र रहेछौ निर्देशन त भगवानले नै गर्दोरहेछ । टुक्रियो सपना मेरो त्यो दिनदेखि लाग्न थाल्यो खुशी त अब यो जुनीमा हुन्न होला मन परेको मान्छे, मैसामु नरहे पछि बाँचेर पो के गर्न सक्छु र ? उनको यादमा परे पछि यस्तै हुन्छ आजभोली मलाई । त्यसैले दिक्क लाग्छ होलीको दिन ।

फुटेको कॉच जस्तै भाग्य फुटेपछि
मेरो सारा खुशीहरु दैवले लुटेपछि
बॉंच्नु पनि के बॉंच्नु घायल मुटु लिएर
नमेटिने याद प्रिय गयौ मलाई दिएर !!