२४ प्रतिशत नेपालीले खान्छन् उच्च रक्तचापको औषधि

Newslaya Home

२४ प्रतिशत नेपालीले खान्छन् उच्च रक्तचापको औषधि

सोमबार ०९, मङि्सर २०७६

काठमाडौं । नेपालका २४.५ प्रतिशत मानिसहरुमा उच्च रक्तचापको समस्या पाइएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले २४ दशमलव ५ प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको र उनीहरुले रक्तचाप नियन्त्रणका लागि औषधि सेवन गरिरहेको पाइएको छ ।

तथ्यांकका अनुसार उच्च रक्तचापको समस्या भएर औषधि खाइरहेकामा महिलामा भन्दा पुरुषमा बढी देखिएको छ । २९.८ प्रतिशत पुरुष र १९.७ प्रतिशत महिलामा उच्च रक्तचापको औषधि खाइरहेका छन् ।

उच्च रक्तचापको समस्यामा सबैभन्दा धेरै गण्डकी प्रदेशमा रहेको तथ्यांकले देखाएको छ । गण्डकी प्रदेशमा २९.९ प्रतिशतमा उच्च रक्तचापका बिरामीहरु छन् । यस्तै सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा छन् । सुदूरपश्चिम प्रदेशमा २१ प्रतिशतमा उच्च रक्तचापको समस्या रहेको छ ।

प्रदेश १ का २६.६ प्रतिशत मानिसमा उच्च रक्तचापको समस्या रहेको छ । पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचापलाई समयमै नियन्त्रण नगर्दा उच्च रक्तचापका बिरामीलाई मुटुरोग, मिर्गौला सम्बन्धी रोग र पक्षघात हुने सम्भावना उच्च रहन्छ ।