कुखुराको हत्या, ७ जनाविरुद्ध मुद्दा

Newslaya Home

कुखुराको हत्या, ७ जनाविरुद्ध मुद्दा

शनिबार ०७, मङि्सर २०७६

काठमाडौं । भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर ठूलै चर्चा भएको छ । यो काण्डमा अहिलेसम्म ७ जना पक्राउ गरी पुलिसले मुद्दा दर्ता गरिसकेको छ ।

बिहारस्थित कैमुर जिल्लाको फिरोजपुर गाउँमा यो घटना भएको हो । घटना अनुसार स्थानीय एकजना महिलाको कुखुरा फार्मबाट छिमेकीले कुखुरा चोरेछन् । महिलाले आफ्नो कुखुरा चोरी गरेको देखेपछि चोर्ने मानिसले उक्त कुखुरा मारिदिए ।

आफ्नो कुखुरा चोरेर मारेको भन्दै ती कुखुरा धनी महिला र उनका छोरा चोरी गर्ने छिमेकीको घरमा पुगे । तर कुखुरा चोर्ने छिमेकीले उल्टै ती आमा छोरालाई पिटेर घाइते बनाए । ती महिलाले आफ्नो कुखुरा चोरी गरेको, कुखुरा मारेको र आफूमाथि कुटपिट गरेको भन्दै आफ्ना ७ जना छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिइन् ।

प्रहरीले ती सातै जनालाई पक्राउ गर्‍यो । मृत्यु भएको कुखुरालाई पोस्टमार्टमका लागि पशु अस्पतालमा पठाइयो । प्रहरीले कुखुरा चोरी तथा कुटपिटमा संलग्न ७ जनामाथि थप छानविन गरिरहेको बताइएको छ ।