रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै

Newslaya Home

रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै

शुक्रबार ०६, मङि्सर २०७६

काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङ नेपाल आएको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने भएका छन् ।

नेपाल भ्रमणका लागि पुटिन पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) नेपाल आउने भएका छन् ।

‘राष्ट्रपति पुटिनको ३ दिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रूस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्च स्रोतले भन्यो ।

नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताएका छन् । इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ ।

रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ । खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ ।

रेडियोधर्मी पदार्थको प्रयोग र ओसारपसार फराकिलो बनिरहेका बेला नेपालमा अहिलेसम्म यसबारे कानुन बनेको छैन ।

पुटिन भ्रमणका क्रममा नेपाललाई ३ खर्ब रुपैयाँ हाराहारीको ‘सफ्ट लोन’ दिने प्रारम्भिक प्रस्तावसमेत आएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उच्चस्तरीय भ्रमणको वातावरण तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शनिबार रूसको राजधानी मस्को जाँदै छन् ।

उनी रसियाली समकक्षी सर्गेइ लावरोवको मैत्रीपूर्ण निमन्त्रणामा मस्को जाने तयारीमा जुटेका परराष्ट्र मन्त्रालयले जनाएको छ । तर पुटिनको नेपाल भ्रमणबारेको विस्तृत खबर आफूलाई प्राप्त नभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताए ।

नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । औपचारिक सम्बन्ध स्थापना भएको यति लामो अवधिमा सो मुलुकका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको छैन ।

त्यहाँका प्रधानन्याधीश, कम्युनिस्ट पार्टीका, तल्लो र माथिल्लो सदनका सांसदलगायतले मात्रै नेपाल भ्रमण गरेका छन् । नेपालका तर्फबाट भने पूर्वराजाहरू महेन्द्रले सन् १९५८, वीरेन्द्रले सन् १९७६ मा र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सन् २०१० मा रूसको भ्रमण गरेका थिए ।

तत्कालीन सभामुख सुवास नेम्वाङ, तत्कालीन एवं वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव लगायतले पनि सो मुलुकको भ्रमण गरेका छन् । सरकारको पहल प्रभावकारी नहुँदा रूसबाट नेपालमा अहिलेसम्म उच्चस्तरीय भ्रमण हुन नसकेको सो मुलुकका लागि पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन् ।