रघुवीरलाई मन्त्रीबाट हटाएपछि मतदाताले यसरी मनाए खुशियाली

Newslaya Home

रघुवीरलाई मन्त्रीबाट हटाएपछि मतदाताले यसरी मनाए खुशियाली

बिहीबार ०५, मङि्सर २०७६

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट रघुवीर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा स्थानीय मतदाताले दीपावली गरेर खुशियाली मनाएका छन् ।

बिहीबार साझ धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा स्थानीय मतदाताले मैनबत्ती बालेर खुशियाली मनाएका हुन् । मैनबत्ती बाल्न सहभागी स्थानीय मिथिलेस यादवले चुनावमा जिताउन सहयोग गरे पनि अहिले आएर बेवास्ता गरेका कारण रघुवीरलाई मन्त्रीबाट हटाउँदा आफूहरू खुशी भएको बताए ।

लक्ष्मीनियाँका वडा नं. ४ का वडाध्यक्ष राकेश साह पनि मैनबत्ती बाल्ने कार्यक्रममा सहभागी थिए । उनीसमेत मैनबत्ती बालेर खुशियाली मनाउन सहभागी भएको स्थानीयले बताए । तर, वडाध्यक्ष साहले भने आफू मैनबत्ती बाल्ने बेलामा बाहिर रहेको दाबी गरे । उनले मैनबत्ती बालेको कुरा थाहा पाए पनि किन बालेको भन्‍ने विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।