‘मापदण्डअनुसारको सडक बनाउन सहयोग गर्ने कोही भएन,’ : आयोजना कार्यालय

Newslaya Home

‘मापदण्डअनुसारको सडक बनाउन सहयोग गर्ने कोही भएन,’ : आयोजना कार्यालय

बिहीबार ०५, मङि्सर २०७६

इटहरी । ६ लेन सडक मापदण्डअनुसार बनाउन आफ्नो पक्षमा कोही नभएको भन्दै आयोजना कार्यालयले निरिहता व्यक्त गरेको छ । कार्यालयले स्थानीयको साथ भए मापदण्ड अनुसारकै सडक बनाउन तयार रहेको जनाएको छ ।

इटहरी–तरहरा सडक खण्ड मापदण्डबमोजिम बनाउने विषयमा दबाब दिन गएका युवाहरुलाई आयोजनाका इन्जिनियरले स्थानीयबाटै सहयोग नभएको गुनासो गरेका हुन् । युवाहरुले बनाएको संघर्ष समितिले आयोजना कार्यलयमा ज्ञापनपत्र बुझाउने क्रममा आयोजनाका इञ्जिनियर रमेश कुमार गोइतले सडक एकरूपता कायम गर्ने बताए । उनले भने, ‘तपाईंहरूको सहयोगले नै हामी आयोजना मापदण्डअनुसार नै गर्छौं ।’

फुटपाथसहित ५० मिटरको सडकलाई ४० मिटरमा झार्ने गरी केही वडाध्यक्ष र व्यापारीले निर्णय गरेका थिए । इटहरी चोकजस्तो व्यस्त ठाउँमा तत्कालको भन्दा पनि दीर्घकालको आवश्यकतालाई हेरेर सडक फराकिलो बनाउनुपर्ने माग इटहरीवासीको छ । व्यक्ति विशेषको घर जोगाउनको लागि राष्ट्रिय महत्वको सडक साँघुरो बनाउन नहुने भन्दै इटहरीका युवाहरुले संघर्ष समिति नै बनाएका छन् ।

संघर्ष समितिका संयोजक मदन चुडाल नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘एउटै सीमाभित्रै फरक–फरक मापदण्डमा सडक निर्माणाधीन रहेको र भौतिक संरचनासमेत भत्काउने काम विभेदपूर्ण रहेको हुँदा भत्काउन बाँकी रहेका दुवैतर्फका भाग सडक मापदण्डअनुसार कायम गरी सडक निर्माण कार्य गर्न माग गर्दछौं ।’