लालबाबु पण्डित र गोकर्ण विष्टको मन्त्री पद खोसिंँदै, को को हुँदैछन् नयाँ मन्त्री ?

Newslaya Home

लालबाबु पण्डित र गोकर्ण विष्टको मन्त्री पद खोसिंँदै, को को हुँदैछन् नयाँ मन्त्री ?

बुधबार ०४, मङि्सर २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।

भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । पण्डित र विष्ट कुनै समय निकै चर्चित मन्त्री थिए । पण्डितले डिभीधारी कर्मचारीलाई आच्छु आच्छु बनाएका थिए भने विष्टले सरकारी कार्यालयको लाइन काटेर चर्चा बटुलेका थिए ।

यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री सुनसरीकी रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, मोती दुगडलाई नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।

स्रोतका अनुसार नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइनेछ । भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र लेखराज भट्टलाई मन्त्री बनाइनेछ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।

रामेश्वर राय यादव श्रम मन्त्री छन् ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।