पूर्वका चार जिल्लामा एलपी ग्यासको अभाव

Newslaya Home

पूर्वका चार जिल्लामा एलपी ग्यासको अभाव

मङ्गलबार ०३, मङि्सर २०७६

भद्रपुर । झापासहित पूर्वका चार जिल्लामा एलपी ग्यासको अभाव भएको छ । भारतबाट नेपाल भित्रिने एलपी ग्यासका ट्यांकर पर्याप्त मात्रमा आउन छाडेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा ग्यासको अभाव भएको हो ।

बजारमा एलपी ग्यासको अभाव भएपछि उपभोक्ता समस्यामा परेका छन् । झापामा चारवटा ग्यास उद्योग छ । झापाबाहेक मोरङबाट पनि जिल्लाका बजारमा ग्यास सिलिन्डर भित्रिन्छ । तर, भारतको पश्चिम बंगालस्थित कलकत्ताको ग्यास प्लान्टले केही दिनदेखि नेपाल आउने ट्यांकरलाई ग्यास भर्न नदिँदा बजारमा एलपी ग्यासको अभाव भएको बताइएको छ ।

झापाका ग्यास उद्योगमा कलकत्ताको हल्दिया, बरुनी र पारदीप भन्ने ठाउँबाट ट्यांकरमा लोड गरी एलपी ग्यास काँकडभिट्टा नाकाबाट जिल्ला भित्र्याउने गरेको नेपाल एलपी ग्यास संघका सल्लाहकार आदित्य पराजुलीले जानकारी दिए । हल्दिया र पारदीप ग्यास प्लान्टबाट ग्यास आउने गरेको र दुवै प्लान्टमा सरसफाइको काम चलेको हुँदा १० दिन देखि ग्यास नआएको त्रिशक्ति ग्यास उद्योग भद्रपुरका प्रबन्ध निर्देशक समेत रहेका पराजुलीले बताए ।

झापामा त्रिशक्तिको पराजुली, कनकाई, मेची र पाथीभरा ग्यास उद्योग रहेको छ । एउटा ग्यास उद्योगले मासिक ४० हजारदेखि ५० हजार ग्यास उत्पादन गर्दै आइरहेको जनाइएको छ ।