रंगेलीका मेयरविरुद्ध कार्यपालिकाका बहुमत सदस्य आन्दोलित

Newslaya Home

रंगेलीका मेयरविरुद्ध कार्यपालिकाका बहुमत सदस्य आन्दोलित

मङ्गलबार ०३, मङि्सर २०७६

विराटनगर । मोरङको रंगेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन सुरु गरेका छन् । नगरप्रमुख दिलिप बगडियाले मनोमानी ढंगले काम गर्ने गरेको र आफूहरुलाई वास्ता नगरेको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यहरु नगरपालिकामै संयुक्त रुपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढंगले नगरपालिका चलाएको आरोप लगाएका छन् ।

उनीहरुले प्रमुखले आफ्नो कार्यशैली नसच्याए मंसिर ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएका छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

रंगेली नगरपालिका–२ का वडाध्यक्ष जित नारायण खवासले रंगेली सामुदायिक भवन निर्माणको कोटेशनलगायतको विषयमा शंका गर्दै विकास निर्माणको काममा आफ्नो उद्योगको सामान प्रयोग गरेको आरोप लगाए ।

रंगेली बजारको सडक विस्तारको विषयमा अन्तिम पटक कार्यपालिका बैठक बसेर कसरी घर भत्काउने भनेर निर्णय गर्ने भन्ने सहमति भएपनि बगडियाले आफूखुशी निर्णय गरेको उनले बताए ।

कार्यपालिका सदस्य शंकर प्रसाद साहले व्यक्तिगत रिसिइबी राखेर एउटा घरमा डोजर लगाएको आरोप लगाउँदै भने,‘‘नगरको विषयगत समिति भंग भए पनि उनीहरुलाई बोलाएर प्रमुखले निर्णय गर्दै आउनु भएको छ । यो गैरकानुनी हो ।’

यस्तै, रंगेली–९ का वडाध्यक्ष केदारचन्द राजवंशीले मेयरले रंगेली हाटलाई डेढ वर्षदेखि अस्तव्यस्त बनाएको, दोहमना हाटको बजेटबिनै घर भत्काएर योजना अधुरै राखेको, दुई वर्षअघिको सडकवत्तीको योजना हाल आएर थालिनु भनेको मयेरले आफनो दम्भ देखाएको आरोप लगाए ।