रिहा भएलगत्तै पत्रकार भण्डारीले दिए यस्तो चेतावनी

Newslaya Home

रिहा भएलगत्तै पत्रकार भण्डारीले दिए यस्तो चेतावनी

मङ्गलबार ०३, मङि्सर २०७६

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका पत्रकार खेम भण्डारीलाई प्रहरीले १ घण्टा नियन्त्रणमा लिएर रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार अपरान्ह १ घण्टा नियन्त्रणमा लिएर रिहा गरेको हो ।

पत्रकार भण्डारीले अदालतको फैसला पालना गर्दै आफुले १ घण्टा कैद भुक्तानी १ रुपैयाँ जरिवाना तिरेको बताएका छन् । रिहा भएलगत्तै भण्डारीले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै अदालतले आफ्नो पुनरावदेन गर्न पाउने अधिकारलाई भने अपहरण गरेको दाबी गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्, ‘यसबाट निर्मला हत्या प्रकरणमा अदालतभित्रैका केही काला कर्तुतेहरुको मिलेमत्तोको गन्ध आएको छ । अब न्यायालयलाई कलंकित गर्नेहरुविरुद्ध लड्ने बाटो खुलेको छ ।’

भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए ।

पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।