उदयपुरमा स्थानीय र प्रहरी बीच झडप

Newslaya Home

उदयपुरमा स्थानीय र प्रहरी बीच झडप

मङ्गलबार ०३, मङि्सर २०७६

उदयपुर । उदयपुरको बेलका नगरपालिका– ४ मा मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ । ढुंगा उत्खनन विवादलाई लिएर झडप भएपछि स्थानीयले चक्काजाम गरेका छन् ।

झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ । सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए ।

रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो।

सोमबार नगरपालिकाका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो। छलफलमा सिसुवा खोला र गिदेरी खोलाबाट अहिलेलाई ढुंगा लाने काम स्थगन गर्ने सहमति भए पनि टिपरमा लोड गरिएको ढुंगा त्यही खन्याउने विषयमा सहमति जुट्न नसकेको जनाइएको छ ।

नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुंगा उत्खनन रोक्न माग गरेको थियो । गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो।

सम्झौता पत्रमा नगरपालिकाको दसवटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ। जसमा अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ।