धिक्कार होस्, दुई तिहाइको लाचार नेपाल सरकारलाई !

Newslaya Home

धिक्कार होस्, दुई तिहाइको लाचार नेपाल सरकारलाई !

– डा.भक्त राई
मङ्गलबार ०३, मङि्सर २०७६

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई पञ्चायत्कालदेखि नै भारतले आफ्नो सैनिक दस्ता तैनाथ बनाएर नेपालीभूमी कब्जा गरेकै हो । तर यतिबेला उक्त नेपाली भूमी भारतकै हो भनेर प्रमाणित गराउने उदेश्यले नेपालको ती भूमीलाई पनि भारतकै नक्सामा गाभेर नयाँ नक्सा तयार पारेर सार्वजनिक गर्दा समेत यो लाचार सरकार र शक्तिशाली भनाउदा नेपाल सरकारका प्रमुख निरीह प्रधानमन्त्रीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई तत्काल हटलाइनमा फोन गरेर भारतीय सैनिकलाई तत्काल भारत फर्काउने आँट गर्न त सकेन सकेन सहसचिव स्तरका भारतीय राजदूतलाई तुरुन्तै बोलाएर तेरो सरकारले अत्यन्त गलत गर्यो यो विषयमा तुरुन्तै कुटनैतिक पहल गर भन्ने हिम्मत समेत गर्न सकेन ।

निर्दोष जनता दिनहुँ सडक र मिडियामा निरर्थक उफृरहेको छ । यो बेतुकको विरोधलाई न भारत सरकारले सुनेको छ न त लाचार नेपाल सरकारले सुनेको छ । त्यसैले अब देशभक्त नेपाली जनताले सिंहदरबार र बालुवाटार घेरेर यो निकम्मा सरकारलाई ‘अब तिमीहरुले नेपाली भूमीलाई सुरक्षा गर्न नसक्ने हो भने यस्तो लाचारी सरकारले नेपालकै ढिकुटी रित्याएर डकार गर्दै बस्ने अधिकार एक मिनेट पनि छैन’ भन्न सक्नु पर्दछ ।

अब सबै देशभक्त नेपालीले राजनैतिक पार्टी, सिद्धान्त र सरकारभन्दा माथि उठेर सोच्ने बेला आएको छ । आफ्नो जन्मभूमिलाई कसैले अपहरण गर्दा समेत चुपचाप बस्ने निकम्मा सरकारको समर्थन गर्नु भनेको नेपाल आमालाई परित्याग गर्नु हो ।

अब हरेक राष्ट्रभक्त नेपालीले यो मेरो पार्टी, यो मेरो सरकार, यो मेरो नजिकको मन्त्री, यो मेरो नेता भनेर चुपचाप बस्नु भनेको नेपाल आमालाई अपमान गर्नु हो । त्यसैले अब आफ्नो पार्टीको होइन देशको झण्डा बोकेर जुटौँ देश रहे पार्टी रहन्छ देश नरहे हामी रहन्नौ । आउनुस् सक्छ देशको सुरक्षा गरोस होइन भने यो निकम्मा सरकारलाई आफ्नो गाँस कटाएर तपाईं हामीले पाल्नुपर्ने भन्ने कुनै बाध्यता छैन ।

मैले कुनै राजनैतिक दल सापेक्ष भएर वा कुनै दललाई विरोध गर्दै यो विचार राखेको होइन । यतिबेला देश सम्झौँ देश नरहे हामी रहन्नौ बस् ।