अनुगमनपछि उपमेयर भन्छिन्, ‘इटहरी चोकमा फुटपाथ क्लियर नगरी सडक निर्माण’

Newslaya Home

अनुगमनपछि उपमेयर भन्छिन्, ‘इटहरी चोकमा फुटपाथ क्लियर नगरी सडक निर्माण’

सडक आयोजनासँग सबै कागजपत्र माग
सोमबार ०२, मङि्सर २०७६

इटहरी । संघर्ष समिको व्यापक दबाबपछि इटहरी उपमहानगरले रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनासँग सबै कागजपत्र माग गरेको छ ।

उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरा सम्मको सडकको विभिन्न ठाउँको स्थलगत अनुगमनसमेत गरिएको छ ।

इटहरी–तरहरा सडक खण्डको डिपीआर, खरिद सम्झौता लगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको जनाइएको छ ।

इटहरी तरहरा सडक खण्डमा फरक फरक मापदण्ड कायम गरि निर्माण भइरहेको भन्ने बिषयमा अन्यौल कायम भएको भन्दै संघर्ष समिति नै बनेर उपमहानगरको ध्यानाकर्षण गराइरहेकाले कागजपत्र माग गरिएको पत्रमा उल्लेख गरिएको छ । नेकपाका युवा नेता मदन चुडालको नेतृत्वमा इटहरीका दर्जनौं युवा र स्थानीयहरुले सडक क्षेत्र खाली गराउनुपर्ने माग गरी विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

आजै उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा नागरिक समाज, संघर्षसमिति, उपमहानगर र आयोजनाका इन्जिनियरले इटहरीदेखि तरहरासम्मको विभिन्न ठाउँमा नाप्ने कार्य भएको छ ।

नापजाँच गर्दा इटहरीदेखि तरहरासम्म सडकको कालोपत्रे गर्ने भाग एकै नास पाइएको तर तरहरा, आँपगाछी क्षेत्रमा फुटपाथ क्लियर गरिएको इटहरी चौकमा नगरेको पाइएको उपमेयर गौतमले बताइन् ।

इटहरी चौकमा सबैभन्दा बढि मान्छे हिड्ने भएकोले चोकमा पनि फुटपाथ क्लियर गरेर जानुपर्ने आफनो मान्यता रहेको उनले बताइन् ।

उपमहानगरका इन्जिनियर अरुणभक्तराजले इटहरी चौक उत्तर तरहरा सम्म सेन्टरदेखि ड्रेन हाल्दै गरेको भागसम्म २० मिटर नै पाइएको बताउँदै भने, ‘आँपगाछीदेखि उत्तरको क्षेत्रमा सेन्टरदेखि क्लियर एरियामा रिटेनिङवाल हालेर २५ मिटर सम्म लिएको, तर घर भएको ठाउँ भने नचलाएको देखियो ।’

तरहरा चौकमा २० मिटरमै पनि पाँच सात वटा घर परेको देखिएको छ । ३ वटा घर २५ मिटर छोडेर नै बनाउदै गरेको अनुगमनका क्रममा भेटिएको छ भने केही घर २० मिटर मापदण्डमा फुटाउन सुरु गरिएको पाइएको छ ।