३५ करोड बढी ठगेको भन्दै नोबेल मेडिकल कलेजमा सम्पत्ती शुद्धीकरणको छापा

Newslaya Home

३५ करोड बढी ठगेको भन्दै नोबेल मेडिकल कलेजमा सम्पत्ती शुद्धीकरणको छापा

सोमबार ०२, मङि्सर २०७६

विराटनगर। नोबेल मेडिकल कलेजले ३५ करोड ७० लाख रुपैया गैह्रकानुनी असुली गरेकोभन्दै सम्पत्ती शुद्धिकरण विभागले छापा मारेको छ ।

आइतबार साँझ पुगेको विभागको टोलीले छापा मारेको हो ।

नोबेलसहित नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ । नोबल मेडिकल कलेज विराटनगरसहित देशभरका तीन वटा मेडिकल कलेजमा एकसाथ छापा मारिएको हो ।

कलेजले विद्यार्थीहरुसँग दुई लाख रुपैयादेखि २५ लाख रुपैयासम्म अतिरिक्त शुल्क असुल गरेको बताइएको छ ।

सरकारले उपत्यका बाहिरका मेडिकल कलेजको लागि ३८ लाख ५० हजार रुपैया शुल्क तोकेको थियो भने उपत्यका भित्रको लागि ३५ लाख रुपैया शुल्क तोकेको थियो । तर तोकिएको शुल्कमा मनपरी थपेर विद्यार्थीसँग शुल्क असुल गरिएको गुनासो आएपछि विभागले छापा मारेकोहो ।

विद्यार्थीहरुको आन्दोलनसमेत बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने अभिव्यक्ति दिएलगत्तै विभागले कारवाही थालेको हो । विभागलाई यस विषयमा कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको छ ।

सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।