राष्ट्रिय टिमबाट बर्खास्तमा परेका विमल र अन्जनसहित चार फुटबलरमाथि थप अनुसन्धन हुने

Newslaya Home

राष्ट्रिय टिमबाट बर्खास्तमा परेका विमल र अन्जनसहित चार फुटबलरमाथि थप अनुसन्धन हुने

आइतबार ०१, मङि्सर २०७६

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट बर्खास्तमा परेका चार जना फुटबलरमाथि थप अनुसन्धन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको थियो ।

उनीहरुलाई नियमविपरित नाइट क्लबमा गएको भन्दै एन्फाले तत्काल राष्ट्रिय टिमबाट हटाएको थियो । उक्त विषयमा थप अनुसन्धान भइरहेको र पछि थप कारबाही हुन सक्ने एन्फाका प्रवक्ता किरण राईले बताए ।

राईका अनुसार घटनाबारे मंसिर ३ गतेपछि एन्फामा छलफल हुनेछ ।

मंसिर ३ गते हुने कुवेतविरुद्धको खेलका लागि भुटान गएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा स्वदेश फर्किएपछि एन्फा बैठक बस्ने भएको हो ।

चारै जना खेलाडी फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलका लागि राष्ट्रिय टिममा परेका थिए ।

कारबाहीमा परेपछि उनीहरुलाई भुटान जानबाट एन्फाले रोकेको थियो ।

वैकल्पिक खेलाडीको सूचीमा रहेका सुवास गुरुङ मात्र भुटान गएका छन् । प्रशिक्षक योहान कालिनले अरु खेलाडी माग नगरेकाले टिममै उपलब्ध खेलाडीले कुवेतविरुद्ध खेल्नुपर्ने भएको छ ।

कारबाहीमा परेका चारै जना पहिलो रोजाइमा पर्ने खेलाडी भएकाले नेपाललाई कुवेतविरुद्ध खेल्न गाह्रो हुने देखिएको छ ।

नाइटक्लबमा रक्सी खाएर मातेपछि विमल र अन्जनसहित चार फुटबलर राष्ट्रिय टिमबाट आउट