विवादमा ६ लेनको सडक, मेयरलाई ज्ञापन पत्र बुझाउँदै संघर्ष समिति

Newslaya Home

विवादमा ६ लेनको सडक, मेयरलाई ज्ञापन पत्र बुझाउँदै संघर्ष समिति

आइतबार ०१, मङि्सर २०७६

इटहरी । त्रिदेशीय जोड्ने निर्माणाधिन रहेको सडक इटहरीको मुख्य चौक आसपासमा ५५ फिट मात्र चौडा गरिएको भन्दै विवाद हुँदै आएको छ ।

उक्त बिषयमा सर्वपक्ष अनुगमन गरी प्राविधिक प्रतिवेदन तयार पारी सबैमा जानकारी गराउन माग गर्दै युवा संघर्ष समितिले आईतबार (आज) इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई ज्ञापन पत्र बुझाएको हो ।

विवादित रहेको ६ लेनको सडक प्रति ध्यानाकर्षण गराउन शनिबार करिब दुई दर्जन बढी युवाहरुले २०१ सदस्यीय समिति रहने गरी संघर्ष समिति बनाएका हुन् । ज्ञापन पत्र बुझाउँदै रानी–बिराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राजमार्ग एकरुपता नहुँनु दुःखद् रहेको संघर्ष समितिका संयोजक मदन चुडालले बताए ।

६ लेन सडक राजमार्ग ऐनले तोकेको सीमा केन्द्रबाट २५–२५ मिटर कायम रहने गरी सर्भिस लेन सहितको व्यवस्था रहेको हुँदा सो अनुसारको कायम गराउँन जोडदार माग गर्दै उक्त ज्ञापन पत्रमा यस कार्यमा इटहरी उपमहानगरपालिकाको भूमिका महत्वपूर्ण रहने हुँदा सर्वपक्ष अनुगमन गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै माग पुरा नभएमा आगामी दिनमा कडा आन्दोलन गर्द बाध्य हुने उल्लेख गरिएको छ ।

त्यस्तै, संघर्ष समितिका सह–संयोजक होमनाथ धमलाले संघीय सरकारले २५ फुट कायम गर्न निर्देशन दिएको सडकमा स्थानीय सरकार बाधक बनेको भन्दै यस बिषयमा उपमहानगरपालिका चुप लागेर बसेको प्रति आलोचना गरे ।

ज्ञापन पत्र बुझ्दै मेयर द्धारिकलाल चौधरीले विभागको मापदण्ड २५ फुट नै हो, तर इटहरी चोकदेखि दक्षिण २० मिटर कायम गर्ने विभागले जानकारी दिएको भन्दै आँफूहरुले पटक–पटक आयोजनाका पदाधिकारीसँग बसेर छलफल गरेको तर सडक विभागको डिजाइन आँफूहरुले फेरबदल गर्न नमिल्ने जानकारी दिएका हुन् ।