ओलाङचुङगोला नाका यसै वर्ष जोडिने

Newslaya Home

ओलाङचुङगोला नाका यसै वर्ष जोडिने

शुक्रबार २९, कार्तिक २०७६

विराटनगर । चीन र भारतबीच व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल हुँदै तिब्बत जोडिने ओलाङचुङ नाका सम्मको सडक यसै वर्ष जोडिने भएको छ । अन्तर्राष्ट्रिय चासोको यो सडक १४ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको छ । लामो समयदेखि नेपालीले समृद्धिको सडकका रुपमा लिएको यो बाटो चालु आर्थिक वर्षभित्रै जोडिने बताइएको हो ।

ओचाङ्चुङगोलाबाट दक्षिण नेपालतर्फ तीन चरणमा गरी चीनको सहयोगमा २८ किलोमिटर बाटो खोलिसकिएको ओचाङ्चुङगोला सडक आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए । भीर, पहरा भएकाले थप बाटो खोल्न नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको छ ।

जोगबनीदेखि विराटनगर हुँदै ओचाङ्चुङगोला पुग्न धनकुटाको मुलघाट भएर २ सय ७० किलोमिटर दुरी पर्दछ ।

त्यसैगरी तेह्रथुमको बसन्तपुर भएर ३ सय २७ किलोमिटर र मेची राजमार्ग हुँदै ४ सय ८६ किलोमिटर दुरी रहेको छ । तीनै तर्फबाट जाने सडक ताप्लेजुङको दोभानमा जोडिन्छ ।

योजना प्रमुख गुरुङका अनुसार, बसन्तपुरबाट दोभानको दुरी ७१ किलोमिटरमा दुई वर्षभित्र कालोपत्रे गरिसक्ने योजना छ । दोभानबाट ओचाङ्चुङगोलासम्मको दुरी १ सय २३ किलोमिटर मध्ये १ सय ९ किलोमिटर ट्रयाक खुलिसकेको छ । ट्रयाक खोलिसकिएका सडक चौडा गर्न भनें स्थानीय तयार छैनन् ।

मुआब्जा दिए मात्रै सडक चौडा गर्न दिने स्थानीयको अडान छ । सडकलाई ८ मिटर दिन तयार भएपनि दुईतर्फ १५, १५ मिटर सडक छाड्न स्थानीय तयार नभएको गुरुङ बताउँछन् ।