नेपालकी एक मात्र महिला सिइओले बुझिन् एक करोड रुपैया तलब

Newslaya Home

नेपालकी एक मात्र महिला सिइओले बुझिन् एक करोड रुपैया तलब

शुक्रबार २९, कार्तिक २०७६

काठमाडौं । बाणिज्य बैंकहरु मध्येकै एक मात्र महिला प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले वार्षिक एक करोड दुई लाख रुपैयाँ तलब बुझेकी छिन् । बैंकले गत आर्थिक वर्षमा उनलाई तलब बाहेक ८ लाख ५० हजार रुपैयाँ दशैँ भत्ता र तीन लाख ९३ हजार रुपैयाँको इन्धन समेत उपलब्ध गराएको छ ।

प्रमुख कार्यकारीको रुपमा उनलाई बैंकले गाडी सुविधा, चालक, मोबाइल खर्च, बीमा र ऐन बमोजिमको बोनस दिएको छ । यो सुविधा बैंकका अन्य उच्च व्यवस्थापन तथा प्रबन्धकहरुले पनि पाउँछन् ।

उच्च व्यवस्थापन तथा प्रबन्धकहरुले गत वर्ष चार करोड ४३ लाख रुपैयाँ तलब बुझेका छन् । यस बाहेक उनीहरुले दुई करोड ७४ लाख रुपैयाँ भत्ता लिएका छन् ।

उच्च व्यवस्थापन तहमा रवीना देशराज श्रेष्ठ, तुल्सीराम पोखरेल, मनोज खड्का, प्रज्ञा पाण्डे, अमित श्रेष्ठ र राजेश शर्मा रहेका छन् । त्यस्तै प्रबन्धक तहमा ४३ जना रहेका छन् ।

गत आर्थिक वर्षमा कर्मचारीहरुले २५ करोड ८९ लाख रुपैयाँ बोनस पाएका छन् । ऐन अनुसार बैंकले नाफाको १० प्रतिशत रकम कर्मचारीहरुलाई बोनस प्रदान गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कर्मचारीहरुका लागि तलब, बोनस तथा अन्य सुविधाका लागि मात्रै बैंकले एक अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ ।

सञ्चालक समितिले बैठक भत्ता ४२ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुले यस बाहेक मोबाइल तथा पत्रपत्रिकाको लागि ५ लाख ९५ हजार रुपैयाँ पाउछन् ।