कुकुरसँगै फोटो टाँसेर बेइज्जत गरेपछि दैनिक १८ घण्टा काम हुन थाल्यो

Newslaya Home

कुकुरसँगै फोटो टाँसेर बेइज्जत गरेपछि दैनिक १८ घण्टा काम हुन थाल्यो

शुक्रबार २९, कार्तिक २०७६

काठमाडौं । स्थानीयवासीले आफ्ना सञ्चालकको फोटो गाडी र बिजुलीका पोलपोलमा टाँसेर विरोध गरेपछि शैलुङ कन्स्ट्रक्सनले कमलविनायक–नगरकोट सडक खण्डमा धमाधम काम गर्न थालेको छ । उक्त सडक खण्डमा अहिले दैनिक १८ घन्टा काम भइरहेको छ ।

गत मंगलबार नगरकोटका स्थानीयवासीले शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो सवारीसाधन तथा बिजुलीका पोलमा टाँसेका थिए । शैलुङकका सञ्चालक अधिकारी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन् ।

स्थानीयवासीको उक्त विरोध गरेकै दिनदेखि कामदारले बाटोका खाल्डाखुल्डी पुर्ने काम सुरू गरेका थिए ।

कमलविनायक–नगरकोट सडक खण्डको ६५ प्रतिशत काम सकिसकेको छ । पछिल्लो समय विभिन्न बहाना बनाउँदै ठेकेदारले काम रोकेपछि स्थानीयले धुलो र हिलोको सास्ती झेल्नु परेको थियो ।

साढे १५ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २०७१ असारमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७३ असारसम्म सडकको काम भइसक्नु पर्ने थियो ।

ठेकेदार कम्पनीले प्रभावका आधारमा पटक–पटक म्याद थप्दै आएको थियो । पछिल्लो समय उक्त सडकको काम २०७७ वैशाखसम्म सक्ने गरी म्याद थप गरिएको छ ।

अब पनि ठेकेदार कम्पनीले थपेको समयमा काम नसके ठेक्का तोडिने सडक आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिएका छन् ।