आलम पूर्पक्षका लागि जेल चलान, रौतहट कारागारमा नराखिने

Newslaya Home

आलम पूर्पक्षका लागि जेल चलान, रौतहट कारागारमा नराखिने

शुक्रबार २९, कार्तिक २०७६

रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मो.अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले आलमले इन्कारी बयान दिए पनि प्राप्त प्रमाणहरुले निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको हो । कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई पर्न सक्ने प्रतिकुल प्रभावका आधारमा आलमलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।

तर, उनलाई रौतहट कारागारमा नराखिने भएको छ । न्यायाधीश ढकालको इजलासले सुरक्षाको दृष्टिकोणले रौतहटमा राख्न उपयुक्त नहुने भन्दै ‘सुरक्षित स्थानमा राख्नू’ भन्ने आदेश दिएकाले रौतहट कारागारमा नराखिने भएको हो ।

यद्यपि, शुक्रबार आदेश आउँदा साँझ परिसकेकाले अहिले आलमलाई रौतहट कारागारमै राखिएको छ । रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले आलमलाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

उनले आफूले आदेशको पूर्ण विवरण पनि पढ्न भ्याइनसकेको बताएका छन् । २०६४ साल चैत २७ गते भएको राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।

यसअघि सरकारी वकिल कार्यालयले आलमविरुद्ध ८०० पृष्ठको अभियोग पत्र दर्ता गरेको थियो । जसमा आलमले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको उल्लेख थियो । त्यसकै आधारमा आलमलाई शुक्रबार पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।