फेसबुकले तीन महिनामा हटायो तीन करोड हानिकारक सामग्री

Newslaya Home

फेसबुकले तीन महिनामा हटायो तीन करोड हानिकारक सामग्री

शुक्रबार २९, कार्तिक २०७६

बिबिसि । फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ ।

फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री हटाइएको छ ।

सो अवधिमा कुल तीन करोड तीन लाखभन्दा बढी सामग्रीहरू हटाइएको फेसबुकले बताएको छ ।

पहिलो पटक फेसबुकले अर्को चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्याङ्क पनि समावेश गरेको छ ।

अरू कस्ता सामग्री ?
चौध वर्षीया मोली रसेलको आत्महत्यापछि दबावका कारण फेसबुकले यस पटक हटाइएका आत्महत्यासम्बन्धी सामग्रीको पनि तथ्याङ्क सार्वजनिक गरेको छ ।

रसेलले सन् २०१७ मा आत्महत्या गरेपछि उनका बुवाले उनको इन्स्टाग्राममा आत्महत्यासम्बन्धी थुप्रै पोस्ट रहेको थाहा पाएका थिए ।

फेसबुकको चौथो प्रतिवेदनमा सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म हटाइएका सामग्री यस प्रकार छन्ः
– फेसबुकबाट एक करोड १६ लाख र इन्स्टाग्रामबाट सात लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्री
– तीमध्ये ९९ प्रतिशत सामग्री फेसबुकले आफैँ पत्ता लगाएको र बाँकी लगभग एक लाख सामग्री अरूले दिएको जानकारीमा पत्ता लगाइएको
– २५ लाख फेसबुकबाट र आठ लाख ४५ हजार इन्स्टाग्रामबाट आत्महत्यासम्बन्धी सामग्री
– फेसबुकबाट ४४ लाख र इन्स्टाग्रामबाट १५ लाख लागुऔषध बेचबिखनबारे सामग्री
– फेसबुकबाट २३ लाख र इन्स्टाग्रामबाट ५८ हजार हतियार बेचबिखनबारे सामग्री
– इन्स्टाग्रामबाट एक लाख ३३ हजार आतङ्कवादसम्बन्धी सामग्री

फेसबुकले अल–कायदा, आईएस र तिनका सहयोगी संस्थाका ९९ प्रतिशत सामग्री हटाइएको दाबी गरेको छ ।

अन्य आतङ्ककारी सङ्गठनसँग सम्बन्धित ९८।५ प्रतिशत सामग्री फेसबुकबाट र ९२।२ प्रतिशत सामग्री इन्स्टाग्रामबाट हटाइएको छ ।

समग्रमा फेसबुकको तथ्याङ्कले उसले ठूलो परिमाणमा हानिकारक सामग्री हटाइरहेको देखिएको छ ।

सन् २०१९ को ज्यानुअरीदेखि मार्चसम्मको तीन महिनामा फेसबुकले ५८ लाख बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्री हटाएको थियो ।