म खोजिरहेछु.......

Newslaya Home

म खोजिरहेछु.......

– प्रितम कोइराला
बुधबार २७, कार्तिक २०७६

म खोजी रहेछु ,
त्यो कुहिरोले छेकेको ,
मेरो मनमा बिलाएको ,
पोहोर सालको
बर्खाले नबगाएको
मेरो गाउँलाई ,
म खोजि रहेछु ।

काँधमा हलो बोकि हिँड्ने
ती काइला दाइलाई
अनि रातो माटाले
भित्ताहरु पोतेर
खरले छाना छाएका
ती पुराना पुराना
झिगटी घरहरुलाई
म खोजी रहेछु

मैले खोज्दा खोज्दै
देखेको त्यो परको कुहिरो
बल्ल थाहा पाएँ
मौसम फेरबदलले
वनमा सल्किदो
डढेलोको धुँवा पो रहेछ ।
तथापि म खोजी रहेछु
मेरो गाउँलाई

पोहोर सालको
बर्खाले नबगाएको
त्यो मेरो गाउँ
त्यो देउराली भञ्ज्याङ
यस पालीको बर्खाले
सबैसबै बगायो रे !
अनि म सुन्दैछु
काँधमा हलो बोकी हिड्ने
ती मेरा काइला दाइपनि
विदेशिएर रडका भारी
बोक्दै छन् अरे !
तैपनि म खोजी रहेछु
मेरा काल्दाइलाई
अनि मेरो गाउँलाई
म खोजी रहेछु
साँच्चै,म खोजी रहेछु ।