इटहरीमा नाम मात्रको ६ लेन, जिम्मेवार निकायहरु नै आरोप प्रत्यारोपमा

Newslaya Home

इटहरीमा नाम मात्रको ६ लेन, जिम्मेवार निकायहरु नै आरोप प्रत्यारोपमा

बुधबार २७, कार्तिक २०७६

इटहरी । कालापानीको मुद्धाले राष्ट्रिय राजनीतिका दलहरु एक ठाउँ जुटेका बेलामा इटहरीको सडक विस्तारले भने इटहरीलाई दुई भागमा विभाजन गरिदिएको छ । सडक विस्तारको पक्ष, विपक्षमा दुई वटा समुह देखिएपछि सामाजिक सञ्जालमा टिका टिप्पणी र गाली बेइज्जती सुरु भएको छ ।

जोगबनी–किमाथांका सडकलाई ६ लेनमा विस्तार गर्ने इटहरीको मुख्य चोकमा ६ लेन विस्तारको काम थालिएको हो । स्थानीयको अवरोधका कारण लामो समयदेखि अड्किएको विस्तारको काम दशैं, तिहार, छठलगायतका चाडपर्व सकिएसँगै जनप्रतिनिधीहरुसमेतको सहमतीमा सुरु भएको हो ।

५० मिटरको सडकलाई इटहरी चोकको उत्तर गोरखा डिपार्टमेन्ट अगाडी ४० मिटर चौडा बनाएर विस्तार गर्न थालिएपछि आलोचना र बचाउमा दुई पक्ष विभाजित भएको हो । यो सडक ६ लेनको दुई देश जोड्ने सडक भएपनि इटहरीमा भने नाम मात्रको ६ लेन हुने भएको छ । चोक दक्षिण त झन् योभन्दा झन् साँघुरो (३२ मिटर) कायम हुने ६ लेन सडक आयोजना कार्यालयले जानकारी दिएको छ ।

इटहरीका धेरैले सडक विस्तार केही व्यक्तिको दबाब र प्रभावमा खुम्चन नहुने बताएका छन् भने सडक विस्तार प्रक्रियाबाट प्रभावित चोकमा घर हुने व्यापारी तथा तिनका शुभचिन्तकले भने सडक बचाउ गरेका छन् । रोहित प्रसाईं, केशव सिटौला र गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यलगायतको दबाबले इटहरी चोकमा ६ लेन सडक मापदण्डअनुसार विस्तार नभएको आरोप सर्वसाधारणको छ ।

यसैबिच केही दिन अघि इटहरी उप महानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले इटहरीको मुख्य चोकको सडक बिस्तार गर्न काँग्रेस नेता रोहित प्रसाईं बाधक भएको भन्दै कमेन्ट गरेपछि नेपाली काँग्रेस समर्थकहरुले यसलाई पार्टीमाथिको आक्रमणको रुपमा हेरेका छन् । यता प्रसाईले भने नेपाल सरकारले गर्ने सडक विस्तारको काममा आफु बाधक भएको भन्ने टिप्पणी निराधार र लान्छाना लगाउने खालको भएको बताए । ‘मैले त झनु् चाँडो काम सक्नु भनेर आग्रह गरेर मेरै घरअघिबाट थाल्नु भन्दै सहजिकरण गरेको छु,’ उनले भने, ‘यत्रो स्थानीय सरकार, संघीय सरकार हुँदा हुँदै म कसरी बाधक भएँ ?’

इटहरीको आर्मी क्याम्प देखि तरहरा सम्म ५० मिटर कायम भएको सडक इटहरीका मुख्य चोकमा घरधनीको अवरोधका कारण लामो समयदेखि निर्माण अबरुद्ध थियो । इटहरीको चौकमा ४० मिटर मात्र कायम गराउने विषयमा दशैं अघि नै निर्णय भइसकेको थियो । इटहरीका जनप्रतिनिधि, उद्योगी व्यवशायीको समुहले सडकको चौडाई ४० मिटर बनाउने गरी सहमती भएको थियो । सर्वपक्षीय निर्णयसँगै अवरोध खुलेपछि आयोजनाले बाटो विस्तार थालेको हो ।

इटहरी चोकदेखि आर्मी क्याम्पसम्म सडक ४० मिटर मात्र चौडा भएपछि इटहरी चोकका लगभग सबैको घर जोगिने अवस्था बनेको छ । त्यसउता तरहरासम्म ५० मिटर कायम गरिएको छ । भीडभाडयुक्त ठाउँमा साँघुरो बनाएर भीड नहुने ठाउँमा चौडा सडक विस्तार गर्नुको औचित्य नभएको भन्दै धेरैले आलोचना गरेका छन् ।

3 प्रतिकृयाहरू प्राप्त
  • khagendra Baralलेख्नुहुन्छ
  • |
  • बिहीबार २८, कार्तिक २०७६
kanun chai janta lai matrai. paisa wala lai xna.sabai tera barber hune px
  • Nawaraz koiralaलेख्नुहुन्छ
  • |
  • बिहीबार २८, कार्तिक २०७६
यो सबै राजनैतिक खेल हो अरु केही होइन कनुन भने को बगिब दुखी लाई मात्र लाग्छ
  • Roshan udasलेख्नुहुन्छ
  • |
  • शनिबार ३०, कार्तिक २०७६
जति मन लाग्यो त्यतिको बनाउने भए केको मापदण्ड ? मुख्य चोकमा झन् गाडी र मान्छेको चाप थाम्न सक्छ ? पछि पुगेन भने फेरि बढाउन मिल्छ ? सम्बन्धित निकायको ध्यान जाओस !!!