अब इन्स्टाग्राममा लाइक्स संख्या नदेखिने

Newslaya Home

अब इन्स्टाग्राममा लाइक्स संख्या नदेखिने

बुधबार २७, कार्तिक २०७६

काठमाडौं । लोकप्रिय फोटो शेयर एप इन्स्टाग्राममा अब लाइक संख्या नदेखिने भएको छ । अमेरिकी प्रयोगकर्ताहरुमाझ इन्स्टाग्रामले ‘हाइड लाइक काउन्ट्स’ फिचर परीक्षण गर्न लागेको हो ।

फेसबुक स्वामित्वको सोसल प्लाटफर्म इन्स्टाग्रामका सीईओ एडम् मोसरीले शुक्रबार अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित एक समारोहमा यसको खुलासा गरेका हुन् ।

प्रयोगकर्तामा लाइक्स प्राप्त गर्ने होडबाजी तथा दबावलाई घटाउन तथा आफ्ना पोष्टमा आउने प्रतिक्रियालाई लिएर चिन्तित रहने प्रयोगकर्तालाई लक्षित गरी लाइक्सको संख्या नदेखाउने फिचर सुरु गरिने इन्स्टाग्रामले बताउँदै आएको थियो ।

इन्स्टाग्रामले यसअघि क्यानडा, आयरल्याण्ड, इटाली, जापान, ब्राजिल, अस्ट्रेलिया तथा न्युजिल्याण्डमा पनि लाइकको संख्या लुकाउने फिचरको परीक्षण गरिसकेको छ । फेसबुक स्वयंले पनि अस्ट्रेलियामा यस्तो परीक्षण गरिरहेको छ ।

इन्स्टाग्रामका प्रवक्ताका अनुसार, मानिसहरूले इन्स्टाग्राममा कुनै पोष्ट गर्दाको समयमा दबाव महसुस गर्दछन् । आफ्नो पोष्टमा प्राप्त हुने लाइक्सको संख्यालाई आफ्ना साथीभाइ, परिवारका अन्य सदस्य तथा विभिन्न सेलिब्रेटीहरूसँग तुलना गर्दछन् । यस्तो तुलनामा व्यक्तिलाई नमीठो अनुभूति दिलाउँदछ ।

एक अध्ययन अनुसार, सोसल मिडिया पोष्टमा प्राप्त हुने लाइक्स प्रयोगकर्ताका लागि ड्रग्सजस्तै बन्दै गएको छ । लाइक्सप्रतिको बढ्दो चाहनाले सोसल मिडिया प्रयोगकर्तामा विभिन्न खाले समस्या पनि पैदा हुने गरेका छन् ।