विराटनगरमा शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

Newslaya Home

विराटनगरमा शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

मङ्गलबार २६, कार्तिक २०७६

विराटनगर । विराटनगर–४ राजवंशी चौकस्थित अपर्ण स्कूलका शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।

अपर्ण स्कूलका संचालक समेत रहेका शिक्षक निमेष बस्नेतले कक्षा ८ मा अध्ययरत मोरङ बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीका १४ वर्षीय रोश्नी भण्डारीलाई निर्घात कुटपिट गरेका हुन् ।

स्कूलले लिएको दोस्रो सेमिस्टरको परीक्षामा फेल भएको र नियमित स्कूल नआएको भन्दै सोमबार दिउँसो शिक्षक बस्नेतले विद्यार्थीलाई पानी पाइपले कुटपिट गरेको पीडित विद्यार्थीको भनाई छ । शिक्षकले पाइपले कुटपिटबाट विद्यार्थी भण्डारीको पछाडि पट्टिको भागमा गहिरो चोट लागेको रोश्नीकी आमा पुष्पा भण्डारीले बताइन् ।

शिक्षकको कुटाइबाट छोरीलाई रातभरी ज्वरो आएको आमा पुष्पाले बताइन् । स्कूलले लिएको परीक्षामा रोश्नीले विज्ञान, स्वास्थ्य र भोकेसनल विषयमा फेल भएको भन्दै शिक्षक बस्नेतलले कक्षा कोठादेखि बाहिर निकालेर पाइपले कुटपिट गरेका थिए ।

अपर्ण स्कूलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थीमाथि कुटपीट भएको स्वीकारेका छन् ।

पीडितका आफन्तले मंगलबार निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्याल मोरङमा उजुरी दिएका छन् ।