मोरङको खोलामा बाह्रैमास अवैध उत्खनन्

Newslaya Home

मोरङको खोलामा बाह्रैमास अवैध उत्खनन्

सोमबार २५, कार्तिक २०७६

मोरङ । मोरङको केराबारी गाउँपालिका–८ मा वन क्षेत्र भएर बग्ने खदम खोलामा अवैध उत्खनन् गरिरहेको फेला परेपछि प्रहरीले गत शनिबार तीनवटा जेसिबीलाई नियन्त्रणमा लिएको छ । चालकसहित जेसिबी नियन्त्रणमा लिइएको हो ।

निषेधित क्षेत्रमा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले को १ क १७४०, को १ क १४६६ र को १ क ३१५९ नम्बरको जेसिबीसहित चालक केराबारी–३ का २५ वर्षीय विक्रम याक्खा, उदयपुरको त्रियुगा नगरपालिका–१ का १९ वर्षीय भीमराज विष्ट र दाङ तुलसीपुर नगरपालिका–५ का २८ वर्षीय भूपेन्द्र डाँगीलाई पक्राउ गरेको हो ।

एकै पटक नियन्त्रणमा लिइएका तीनवटा जेसिबी स्थानीय स्तरमा गुण्डागर्दी र असुलीको धन्दा चलाउँदै आएका मखन तामाङ, प्रकाश घिमिरे र मोहन लिम्बूको रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका जेसिबीसहित चालक विरुद्ध सोमबार वन ऐन २०७६ को दफा ४९ को कसूरमा कारबाहीका लागि म्याद थप गरेर अनुसन्धान अघि बढाइएको शव डिभिजन वन कार्यालय केराबारीका प्रमुख विक्रम अमात्यले जानकार िदिए ।

मोरङको केराबारी गाउँपालिका र लेटाङ नगरपालिकामा वन क्षेत्र भएर बग्ने खोलामा बाह्रैमास अवैध उत्खनन् हुने गरेको पाइएको छ । वन तथा चुरे उत्खनन्का लागि निषेधित क्षेत्र हुन् । राष्ट्रिय वन क्षेत्र भएर बग्ने खदम, मुगु, हुर्हुरे, भलुवा, चिसाङ लगायतका खोलाबाट सबै भन्दा बढी अवैध उत्खनन् हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीय तह वा जिल्ला समन्वय समितिले सामान्य जरिवाना मात्रै गरेर छाडिदिँदा समस्या भइरहेको चुरे संरक्षण समिति केराबारीका अध्यक्ष बलबहादुर भुजेलले बताए । उनकाअनुसार चुरे क्षेत्रमा पनि उत्तिकै उत्खनन् भइरहेको छ ।