प्रत्येक नेपालीको थाप्लोमा ३६ हजार ऋण !

Newslaya Home

प्रत्येक नेपालीको थाप्लोमा ३६ हजार ऋण !

आइतबार २४, कार्तिक २०७६

काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै ११ खर्ब रुपैयाँ पुगेको छ । चालु आवको पहिलो तीन महिना १८ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण ११ खर्ब नजिक पुगेको हो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म तीन महिनामा सरकारले कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण तिरेको पनि छ । यसअनुसार तीन महिनामा १८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक थपिएको हो । अब नेपालको कुल सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९३ करोड पुगेको छ ।

यसमध्ये ४ खर्ब ५३ अर्ब ४९ करोड सार्वजनिक ऋण हो भने ६ खर्ब ३१ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक ऋण हो । कुल सार्वजनिक ऋणलाई तथ्यांक विभागले सन् २०१९ का लागि प्रक्षेपण गरेको जनसंख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ जनालाई भाग लगाउँदा एक नेपाली बराबर ३६ हजार ५ सय २५ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।

चालु आवको तीन महिनामा सरकारले बहुराष्ट्रिय निकायबाट १८ अर्ब ९ करोड ३७ लाख रुपैयाँ ऋण लिएको छ । द्विपक्षीय दाता (देशहरु)बाट ५ अर्ब ३ करोड ९८ लाख रुपैयाँ ऋण लिइएको छ । यस अवधिमा सरकारले कुल २६ करोड ५ लाख रुपैयाँ आन्तरिक उठाएको छ । यसरी तीन महिनामा मात्र कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ३१.३२ प्रतिशत पुगेको छ । अहिले नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रुपैयाँ रहेको छ । कुल सार्वजनिक ऋण कूल ग्रार्हस्थ उत्पादनको ३१.३२ प्रतिशत हो । सार्वजनिक ऋणमध्ये विदेशी ऋण कुल ग्रार्हस्थ उत्पादनको १८.२३ र आन्तरिक ऋणको हिस्सा १३.०९ प्रतिशत रहेको तथ्यांक छ ।