खाँदबारी अस्पतालका स्वास्थ्य सहायकले कुटे कर्मचारी

Newslaya Home

खाँदबारी अस्पतालका स्वास्थ्य सहायकले कुटे कर्मचारी

आइतबार २४, कार्तिक २०७६

संखुवासभा । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीका स्वास्थ्य सहायक (एचए) दीपेश श्रेष्ठले करारका एक कर्मचारीमाथि कुटपिट गरेका छन् ।

श्रेष्ठले अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर सवन शाक्यलाई शुक्रबार कार्यालय समयमा कुटपिट गरेका हुन् । जिल्ला अस्पतालको प्रशासनमा काम गर्दै आएका श्रेष्ठले पटकपटक जागिरबाट निकाल्ने भन्दै धम्क्याउने गरेको शाक्यको आरोप छ ।

चिया पसलमा भेट्दापनि ‘राजीनामा दे नभए म निकाल्छु’ भन्दै श्रेष्ठले धम्की दिने गरेको उनको भनाइ छ । शाक्यलाई स्वास्थ्य बिमाको जिम्मेवारी दिइएको छ । स्वास्थ्य बिमामा बढी बजेट हुने भएकाले बारम्बार बिल मिलाउन भन्दा आफूले नमानेपछि अस्पतालका सहायक श्रेष्ठ आफूप्रति रुष्ट भएको उनले बताए ।

शुक्रबार कार्यालय समयमै प्रशासन कक्षमा बोलाएर श्रेष्ठले आफूलाई एक्कासी २ मुक्का हानेर जागिरबाट निकाल्छु भनेको शाक्यले बताए । शाक्य शारीरिक अपांगता भएका व्यक्ति हुन् ।

उता श्रेष्ठले भने आफूले त्यस्तो दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।