सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

Newslaya Home

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलद्वारा राजीनामा

आइतबार २४, कार्तिक २०७६

काठमाडौं । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका मन्त्री रावलको सरकारबाट सुविधावापत पाएको सवारी साधनलगायत ‘ह्याण्डओभर’ गरिसकिएको हो ।


‘ममाथि लगाउन खवजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष र तथ्ययुक्त छानबिन होस् र त्यस्तो पूर्वाग्रहरहित वस्तुपरक छानबिनमा मेरो पूर्ण सहयोग रहनेछ’, राजीनामा पत्रमा भनिएको छ, ‘यस्तो छानबिन गर्न सहज होस् र न्याय स्थापित होस् भन्ने आशयबाट मैले बहन गर्दै आएको सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको पदबाट आजैका मितिदेखि राजीनामा दिएको छु।’

गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र किर्ते मुद्दा दायर भएपछि फरार रहेका मन्त्री रावल प्रहरीको खोजी सूचिमा रहेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले फरार अभियुक्तको रुपमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

जनज्योति एजुकेसन फाउण्डेसनका नामको सेयर बिक्रीमा किर्ते र ठगी गरेको दाबी गर्दै उनीसहित ३६ जनाविरुद्ध १५ करोड ६७ लाख रुपैयाँ बिगोदाबी सहित मुद्दा दायर भएको थियो ।
उनीविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ ।