प्रदेश २ का कर्मचारीले घुम्न जाँदा थप एक महिनाको तलब पाउने

Newslaya Home

प्रदेश २ का कर्मचारीले घुम्न जाँदा थप एक महिनाको तलब पाउने

आइतबार २४, कार्तिक २०७६

धनुषा । प्रदेश–२ का निजामती कर्मचारीहरुले आन्तरिक पर्यटनमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् । प्रदेश २ सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले यस्तो कानुन बनाएको हो ।

देश भित्र कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जाने कर्मचारीले निर्देशिकाले तोकेको केही दायित्व र आचारसंहिता पालना गर्नुपर्ने छ । भ्रमण सकेर कार्यालयमा हाजिर भएको सात दिनभित्र आफू घुमेको पर्यटकीय स्थल, त्यहाँको आफूसहितको तस्बिरहरुलगायत भ्रमणको विस्तृत प्रतिवेदन सम्बन्धित निकायमा पेश गरे मात्र एक महिना बराबरको थप तलब भुक्तानी हुने निर्देशिकामा जनाइएको छ ।

कर्मचारी भ्रमणमा जानु अघि पनि एक महिनाको थप तलब पेश्कीको रुपमा लिन सक्ने छन् । तर, प्रतिवेदन बुझाए मात्र पेश्की लिएको रकम फर्छौट हुने निर्देशिकामा उल्लेख छ ।

यो सुविधाका लागि प्रदेश २ मा कम्तीमा ६ महिना काम गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । निजामती कर्मचारी आफू कार्यरत जिल्लाबाहेक प्रदेश अथवा देशभित्रको जुनसुकै पर्यटकीय स्थलको भ्रमणमा जान सक्नेछन् । भ्रमणमा गएका कर्मचारीले खर्च विवरण बुझाउनुपर्ने छैन ।