नेपालको गेस्टहाउसमा ‘रंगेहात’ पक्राउ परेका भारतीय न्यायाधीशलाई ६ वर्षपछि कारबाही

Newslaya Home

नेपालको गेस्टहाउसमा ‘रंगेहात’ पक्राउ परेका भारतीय न्यायाधीशलाई ६ वर्षपछि कारबाही

आइतबार २४, कार्तिक २०७६

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सन् २०१३ मा नेपालको एक गेस्ट हाउसमा महिलासँग ‘रंगेहात’ पक्राउ परेका विहार तल्लो अदालतका तीनजना न्यायाधीशलाई कारबाहीका लागि शुक्रबार अनुमति दिएको छ ।

न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्तालाई नेपाल प्रहरीले पक्राउ गरेको कुरा नेपालको एउटा दैनिक पत्रिकामा सार्वजनिक भएको थियो । सो समाचारको आधारमा पटना उच्च न्यायालयले जिल्ला तहमा छानबिनको निर्देशन दिएको थियो । तर, तीनै जनाले आफूहरु त्यतिबेला भारतमै भएको दाबी गरेको भारतीय मिडियाले जनाएका छन् ।

उनीहरुले उक्त दैनिक पत्रिकाले आफूहरुको बारेमा निकालेको समाचार गलत भएको स्वीकार गर्दै एक महिनापछि खेद जनाएको छानबिन टोली समक्ष दाबी गरेका थिए । अदालत सो कुरामा सहमत नभएपछि भारतकै गृह मन्त्रालयको मद्धत मागेको थियो । गृह मन्त्रालयले ती न्यायाधीशको गतिविधि हेर्दा ती न्यायाधीशको मोबाइल सन् २०१३ को जनवरी २६ र २७ तारेखमा बन्द भएको पाएको थियो । फोन खुल्दा ती न्यायाधीशहरु नेपालको सीमामा रहेको फारबेसगन्ज क्षेत्रमा फेला परेका थिए । उनीहरु तीनै जनाको फोन एकै ठाउँमा ‘ट्रेस’ भएको थियो । अर्थात् उनीहरुको पोस्टिङ भएको ठाउँमा फोन थिएन ।

गृह मन्त्रालयले दिएको रिपोर्टमा एक न्यायाधीशले विहारको पूर्णिया जिल्लाको एक होटलमा बसेको बिल देखाए पनि त्यो बिल न्यायाधीश आफैंले बनाएको पाइएको उल्लेख थियो । न्यायाधीशको बदमासी पुष्टि भएपछि सर्वोच्च अदालतले ती न्यायाधीशलाई अहिले बर्खास्त गर्न अनुमति दिएको हो । यो विषयको छानबिन गर्न भारतको सर्वोच्च अदालतलाई ६ वर्षको अवधि लागेको छ ।

उनीहरुलाई सुरुमै पटना उच्च न्यायालयको बैठकले निलम्बन गरे पनि अन्तिम निर्णय भएको थिएन । उनीहरु त्यसबेला विराटनगरमा नेपाल प्रहरीले छापा मार्दा महिलासँग गेस्टहाउसमा फेला परेका थिए । उनीहरु भारतका न्यायाधीश भएको थाहा पाएपछि नेपाल प्रहरीले छोडिदिएको भएपनि भारतमा छानबिन अघि बढेको बताइएको थियो ।