टुंगोमा पुग्दै निर्मला हत्याकाण्ड

Newslaya Home

टुंगोमा पुग्दै निर्मला हत्याकाण्ड

आइतबार २४, कार्तिक २०७६

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा प्रहरी अनुसन्धान साघुरिँदै गएको छ । घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान र त्यसको विश्लेषण गरेपछि प्रहरी अनुसन्धान साघुरिँदै गएको प्रहरी स्रोतले जनाएको छ ।

अघिल्लो वर्ष साउन १० गते साथीको घर जान निस्किएकी निर्मला साउन ११ गते घरभन्दा केही वरको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । तत्कालीन समयमा प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै व्यापक विरोध भएको थियो ।

अनुसन्धानमै लापरवाही भएको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुखलगायत दुई जना बर्खास्तीमा परेका थिए भने सात बढी प्रहरी निलम्बन र विभागीय कारवाहीमा परेका थिए । यसबचीमा प्रहरीले एक सय जनाको डीएनए परीक्षण समेत गरिसकेको छ । केन्द्रबाटै प्रहरीको विशेष टोली गत साउनदेखि नै कञ्चनपुरमा सक्रिय छ । हालसम्म कसैको पनि डीएनए निर्मलाको भेजाइनल स्वावसँग मेल नखाएका कारण अभियुक्तको पहिचान हुन सकेको थिएन ।

तर राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डीएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डीएनएको नमुना परीक्षणमै त्रुटी भएको निष्कर्ष निकालेपछि प्रहरीलाई अनुसन्धानका लागि सहज भएको छ । अब प्रहरीले डीएनएमै भर पर्नुपर्ने अवस्था नभएपछि अभियुक्तको पहिचान छिट्टै लाग्ने प्रहरी अधिकारी बताउँछन् ।

रिजाल नेतृत्वको विज्ञ समूहले डीएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष निकालेर केही साताअघि गृह मन्त्रालयमा प्रतिवेदन बुझाइएको छ । तर प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न रहेका कारवाहीमा परेका प्रहरी अधिकारीले समेत डीएनए संलकन र जाँचमा त्रुटि भएको हुनसक्ने दाबी गर्दै आएका छन् ।

गृहले गत महिना रिजालको संयोजकत्वमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डीएनएविद् दिनेश झा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. तुलसी कँडेल सदस्य रहेको डीएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो । प्रतिवेदनमा नमुना संकलनदेखि परीक्षणसम्म त्रुटि भएकाले डीएनएबाट अनुसन्धान सफल हुने सम्भावना नरहेको निष्कर्ष निकालिएको बताइएको छ ।

विज्ञ समूहले निर्मलाको शव पोस्टमार्टम तथा नमुना संकलनमा संलग्न चिकित्सकलगायत अन्य सरोकारवाला व्याक्तिसँग त्यसबारे जानकारी लिइएको थियो ।