धार्मिक अनुष्ठान साथै कृत्रिम अङ्ग वितरण गरिने

Newslaya Home

धार्मिक अनुष्ठान साथै कृत्रिम अङ्ग वितरण गरिने

शनिबार २३, कार्तिक २०७६

झापा । झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ ।

पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध रहेको जलेश्वरधाममा मङ्सिर २ देखि ९ गतेसम्म धार्मिक अनुष्ठानको आयोजना गरिने भएको हो ।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको प्रमुख आतिथ्यमा उद्घाटन गर्न लागिएको अनुष्ठानमा बामन पुराण, रुद्राभिषेक महायज्ञ, सद्विजारोपण, कृत्रिम अङ्ग प्रत्यारोपण, आँखा शिविरलगायतका कार्यक्रम गरिने भएको अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।

भारतको कोलकातास्थित महावीर सेवा सदनको सहयोगमा मङ्सिर ५ देखि ७ गतेसम्म निःशुल्क आँखा शिविर र मङ्सिर १३ देखि २० गतेसम्म निःशुल्क कृत्रिम अङ्ग प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

धार्मिक अनुष्ठानका लागि जगद्गुरु शङ्कराचार्य हेमानन्द गिरी र जगद्गुरु मुमुक्षानन्द महाराजजी मङ्सिर ५ गते आउने भएको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।
हरेक वर्ष धाममा हुने गरेको धार्मिक अनुष्ठानबाट नेपालीमा कायम रहेको धार्मिक सद्भाव र सहिष्णुतालाई अझ बलियो हुने गरेको किराँतधर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष सुब्बाले बताए ।